कर्णाली रोक्न बनाएको तटबन्धमूनि उत्खनन्

टीकापुर, १२ माघ/ कैलालीको जानकी गाउँपालिका वडा नं ६ स्थित कैलाशेश्वर सामुदायिक वनको किनारमा उत्खनन बढेको छ ।
नदी किनारबाट करिब पाँच सय मिटर पर जानकी गाउँपालिकाले ढुङ्गा,गिट्टी, बालुवाका ठेक्का लगाए पनि किनारमै उत्खनन् भैरहेको छ । रानी जमरा कुलरिया सिचाई आयोजनाबाट गत वर्ष मात्रै बोल्डर ९ठूला ढुङ्गा० हालेर सुरक्षित बनाएको वनको किनारमा दैनिक सयौंको सङ्ख्यामा ट्याक्टरमा बालुवा उत्खनन् गरेर लैजाने गरिएको छ ।
यस क्षेत्रमा रानी जमरा कुलरिया सिचाई आयोजनाले बनाएको तटवन्ध भत्किएपछि नदीको बेग रोक्न बोल्डर खसालेर रोकथाम गरिएको हो । हिउँदमा पानी घटेका बेला यहीनेर बालुवा उत्खन्न भैरहेको छ । उत्खन्नका क्रममा पुरानो तटवन्धमा तारजालीमा भरिएका ढुङ्गा निकालेर लैजाने गरिएको छ भने त्यहाँ खसालिएका बोल्डरमूनि उत्खनन् जारी छ ।
यहाँबाट उत्खनन् भैरहेका बालुवाको कैलाशेश्वर सामुदायिक वनले प्रवेश शुल्क र ढुङ्गा गिट्टी को ठेकेदार कम्पनी एसआर निर्माण सेवाले रोयाल्टी सङ्कलन गरिरहेका छन् ।
जानकी गाउँपालिकाका राजश्व शाखाका प्रमुख गङ्गा चौधरीले केहीदिन अघिसम्म अनुगमन भैरहेको, पछिल्ला दिन मा ठेक्का नलगाएकै ठाउँमा उत्खनन् भएको गुनासो आएको बताउनु भयो । नजिकै कार्यालय रहेको कैलाशेश्वर वनका अध्यक्ष खडकबहादुर शाहले आफूलाई त्यसबारे जानकारी नभएको र रोक्न लगाउने बताउनुभयो ।
ढुङ्गा गिट्टीको अवैध उत्खनन्  रोक्न जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र नजिकका वन कार्यालय र उपभोक्ता संस्थाको जिम्मेवारी भएपनि सबै पक्ष बेखबर रहेका छन् ।
स्थानीय अमर रिमाल तल्लो तटमा भैरहेको विकास पूर्वाधारका संरचना र बस्ती सुरक्षित गर्न नदीमा तटवन्ध बनाए पनि यहाँ  भैरहेको उत्खनन्ले जोखिम निम्त्याउने महसुस भैरहेको बताउनु हुन्छ ।
यस अघि पनि देश निर्वाचनमा होमिएका बेला कैलाली जिल्लाका जङ्गल र नदीबाट काठ, ढुङ्गा, गिट्टी तस्करी बढने गरेको छ । टीकापुर–१ का शेरबहादुर विष्ट नदी कटान रोकथाम गरिएको स्थानमा तटबन्ध जोखिममा पार्ने गरी उत्खनन् भैरहेकाले जोखिम बढाउने काम तत्काल रोक्नुपर्ने बताउनुहुन्छ ।
नदी नियन्त्रणका लागि आयोजना बाट अरबौं रुपियाँ लगानी भएपनि किनारको उत्खनन्ले जोखिम घटाउन सकिएको छैन् । पालिकाहरु ले केही लाख राजश्व को लोभले अरबौंको लगानी ध्वस्त बनाउन नहुने आयोजना कार्यालयको भनाई छ ।