कांग्रेसमा सुधारको आवश्यक

सम्पादकीय
आम नागरिकमा आक्रोसको माहोल छ । नागरिकको जनजीवन कष्टकर भएको छ । प्रजातन्त्र नै खतरामा छ । प्रजातन्त्रको विकल्प छैन । यस्तो अवस्थामा प्रजातन्त्रको रक्षा अरु पार्टीबाट सम्भब छैन । नेपालको राजनीतिमा नेपाली कांग्रेसको भूमिका अहम छ । नेपाली कांग्रेसले कसरी मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने बारेमा सोच्न जरुरी छ । कांग्रेस सुध्रिएपछि अरु पार्टी पनि नसुध्रिएर सुखै छैन । नेपाली कांग्रेसमा स्वार्थीहरुको भिड छ । पछिल्लो समय त माफियाहरुको रजगज बढ्न थालेको छ । यस्तो अवस्थामा पार्टी कमजोर हुने नै भयो । इमान्दार कार्यकर्ता भन्दा चाकडी र व्यापारी मानसिकताका व्यक्तिको कुरा नेताहरुले सुन्न थालेपछि नागरिकको काम हुने कुरै भएन । कतिपय त पार्टीमा आएको दुई बर्ष भएको हुँदैन पार्टीले के दियो भन्न थाल्छन् । पार्टी भनेको लिने ठाउँ हो भन्ने बुझाउने प्रयास भइरहेको छ । पार्टीमा लगानी , इमान्दारिता , सगठन गर्ने क्षमताको बारेमा बहस हुन छाडेको छ । तसर्थ हरेक नेता कार्यकर्ताले आफुलाई सुधार्न जरुरी छ । पार्टीको कृयाशिल सदस्यता लिने तर नेतृत्व चयन गर्नेबेला क्षमता प्रदर्शन नगर्दा गलत नेतृत्व हाबी भएको छ । देश र जनताको बिश्वास जित्न समाजमा छवि बचाएका नेताहरुलाई अवसर दिनुपर्छ । टीकापुरमा सामाजिक बहिस्कार गर्नुपर्ने मान्छेहरु नेपाली कांग्रेसको नेतृत्व लिने प्रयासमा लागेको पाइन्छ । राजनीति भनेको शुद्धताका लागि हो । शुद्धता छाडेर भ्रष्ट आचरण भएकाहरुले समाज र पार्टीको नेतृत्व लिने हो भने त्यो समाज समस्यामा पर्नु स्वभाविकै हो । अवसर पाएका बेला बद्नाम हुने अनी अवसर खोज्नेहरुलाई स्थान दिने हो भने कांग्रेस बलियो हुँदैन र नागरिकले पनि पत्याउँदैनन् । त्यसैले नेपाली कांग्रेसले बद्नाम पात्रहरुलाई पाखा लगाएर क्षमतावान र छबि बचाएका व्यक्तिहरुलाई अवसर दिनुपर्छ । हैन भने आउँदो निर्बाचनमा कांग्रेसको अवस्था कमजोर हुन्छ । स्वतन्त्र पार्टीसंग प्रतिस्प्रधा गर्ने हो भने कांग्रेसका नेता कार्यकर्ताले समयमै सोच्न जरुरी छ ।