खानेपानीको सरसफाई सप्ताह,टीकापुर अस्पतालमा सरसफाई सामग्री हस्तान्तरण

टीकापुर, १६ मङ्सिर/टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सप्ताहब्यापी सरसफाई कार्यक्रम अन्र्तगत पाचौँ दिन शुक्रबार टीकापुर अस्पतालमा सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । संस्थाले टीकापुर अस्पताललाई सरसफाईमा सहयोग पुगोस् भनी झाडु, पोछा, सिलिङ ब्रस, ट्वाइलेट ब्रस, हारपिक, फिनाइल, फोहोर उठाउने सामग्री र पञ्जा हस्तान्तरण गरेको हो ।
वातावरण तथा सरसफाई उपसमितिका संयोजक सरिता रावल थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानेपानी तथा सरसफाई संस्थाका पूर्व अध्यक्ष भैरव रावलले खानेपानी संस्थाले हरेक वर्ष सरसफाई सम्बन्धी सन्देश प्रवाहका लागि यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो ।
‘‘सफा, स्वच्छ वातावरण भएमा मानिसको जीवन पनि सुन्दर हुन्छ, हामीले विभिन्न गतिविधि गरिरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘जनचेतनामूलक र सहभागिता मूलक कार्यक्रमले मानिसलाई सन्देश प्रवाह गर्छ । यस्ता कुराहरु जीवनशैली, आचरण र संस्कृतिका रुपमा विकास भएमा सुधार हुन्छ ।’’


कार्यक्रममा संस्थाका अध्यक्ष नरेशकुमार खत्रीले खानेपानीको सम्बन्ध सरसफाईसँग समेत जोडिएकाले सप्ताहब्यापी कार्यक्रम नियमित भइरहेका बताउनुभयो । ‘‘यस वर्ष ११ गतेबाट कार्यक्रम शुरु भएको हो । हामीसँग गाउँघरमा ४७ उपसमिति छन् त्यहाँ पनि अभियानमूलक कार्यक्रम ग¥यौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘शुद्ध पानी र सरसफाईबारे विद्यालयमा समेत कार्यक्रम गरिएको छ ।’’
कार्यक्रम टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले अस्पताल मा सरसफाई सामग्री उपलब्ध गराउनुभएकोमा आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी रंगप्रसाद अधिकारीले मानिस र समाज सफा भएमा रोग नलाग्ने, रोग नलागेमा मानिस निरोगी रहने भएकाले सरसफाई महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा समाजसेवी संगम शाहले समेत बोल्नुभएको थियो । उपाध्यक्ष सिर्जना पण्डितले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सदस्य भानुभक्त जैसीले गर्नुभएको थियो ।