टीकापुर अस्पतालमा सिकलसेलको उपचार हुने

टीकापुर, २८ माघ/ थारु जातिमा मात्रै देखिने सिकलसेल एनिमियाको उपचारका लागि टीकापुर अस्पताल सूचिकृत गरिएको छ ।
नेपाल सरकार सचिव स्तरको निर्णय अनुसार टीकापुर अस्पताल सिकलसेल एनिमियाको उपचारका लागि सूचिकृत भएको स्वास्थ्य सेवा विभागको  नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ ।
टीकापुर अस्पताललाई सूचिकृत भएको, विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० अनुसार बिरामीले नागरिकताका आधारमा उपचार गर्न र त्यसको विवरण विद्युतीय प्रणालीमा राख्न महाशाखाले जानकारी दिएको छ ।
‘सिकलसेलको उपचार विशेषज्ञ डाक्टरबाट गरिने विशिष्टकृत सेवा भएकाले लामो समयको प्रयास र सरकारले तोकेको मापदण्ड पूरा गरेपछि टीकापुर अस्पताल सूचिकृत भएको छ,’ टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले भन्नुभयो, ‘एमडी प्याथोलोजिष्ट भर्ना गरेपछि सूचिकृत हुने बाटो खुल्यो, उपकरण छन्, पाँच बेडको वार्ड बन्दैछ, चाहिने औषधी व्यवस्था गरेर चाँडै उपचार सेवा शुरु  गर्छौ ।’
आफ्नो बच्चालाई सिकलसेलको उपचार गराइरहनु भएका भिख्खु चौधरीले रगत चढाउने काम टीकापुर अस्पतालमै भैरहेकोमा अब छुट्टै वार्डसहित उपचार हुँदा बिरामीलाई धेरैधेरै सहज हुने बताउनुभयो । यसअघि उपचारका लागि नेपालगञ्ज वा धनगढी लगायतका ठाउँमा उपचारका लागि जानुपर्दा समय, खर्च धेरै लाग्ने गरेको थियो ।
पछिल्ला वर्षहरुमा स्थानीय पालिकाहरुले वर्षेनी सिकलसेल एनिमियाको परीक्षण गराउने गरेको छ । परीक्षणका क्रममा नयाँ बिरामी पत्ता लाग्ने र सयौको सङ्ख्यामा सिकलसेल टूेट ९सिकलसेल वाहक सेल० फेला पर्ने गरेका छन् । सिकलसेल पोजिटिभ ट्रेट भएका युवा युवतिले बिहे गरेमा त्यसबाट जन्मिने बाल बालिकामा सिकलसेल देखिने गरेको छ ।
रक्त अल्पता भएका बिरामीको परीक्षण गर्ने, सिकलसेल एनिमिया भएका बिरामीलाई हेमोग्लोविन कम भएमा रगत चढाउनुपर्छ । भिटामिन र औषधी जीवनभर खानुपर्ने हुन्छ । पश्चिम नेपालका थारु समुदायमा मात्रै देखिएको सिकलसेल बंशानुगत रोग हो । सिकलसेल भएमा रक्तकोषहरु हँसिया जस्तै बाँगिने र फुटने गर्छन । रक्तअल्पता हुने, खाना नपच्ने र र मानिस कमजोर हुदै जाने भएकाले यसको औषधीका साथै पोषण र बेलाबेलामा रगत चढाउनुपर्ने     हुन्छ । समयमै उपचार गरे अवस्था खराब हुनबाट जोगिन्छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा सिकलसेलका ९०० जना भन्दा बढी र निजी क्षेत्रमा घोडाघोडी अस्पतालमा ३५० जना बिरामी दर्ता छन् । टीकापुर अस्पतालमा सिकलसेलको उपचार शुरु भएमा ती अस्पतालको चाप पनि घटनेछ ।