टीकापुर, १२ माघ/ सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्थानीय उत्पादन, सीप र प्रबिधि लाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।
कैलालीको टीकापुरमा टीकापुर महोत्सव समापन समारोहमा बोल्दै मन्त्री खड्काले टीकापुर पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रवद्र्धन बढाउन सेती लोकमार्ग निर्माणलाई छिटो अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । मन्त्री खड्काले टीकापुरलाई प्रविधिक शिक्षाको हब बनाउन काम भइरहेको भएपनि पछिल्लो राजनैतिक घटनाक्रमका कारण अगाडि बढ्न नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी एबं टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्ण प्रसाद रिमालले महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको र साना तिना गुनासालाई आत्मसाथ गर्दै आगामी दिनमा सुधार गरेर लैजानु पर्नेमा जोड दिनुभयो ।
टीकापुर उद्योग बाणिज्य संघ द्वारा पुस २९ गतेबाट संचालन गरिएको टीकापुर महोत्सब संघका अध्यक्ष सन्तोष खड्काको अध्यक्षता मा भएको थियो ।
कार्यक्रममा विद्यालय स्तरिय नृत्य प्रतियोगिताका विजयी तथा सहभागीलाई पुरस्कार र प्रशंसा पत्र बितरण गरिएको छ ।

समापन कार्यक्रममा कृषि प्रदर्शनीमा राखिएका आलु, मसला, फलफुल, बिविध बाली समूह र तरकारीबाली समुहका किसानहरूलाई पनि प्रथम, द्वितीय, तृतिय र सान्वना पुरूस्कार सहित सम्मान पत्र बितरण गरिएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवर, वाणिज्य संघका पूर्व अध्यक्ष रामबहादुर भण्डारी, टीकापुरका निवर्तमान उपप्रमुख केशरी विष्ट, नेकपा एमालेका लक्ष्मण थापा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र रावलले स्वागत गर्नुभएको थियो भने सञ्चालन महासचिव प्रकाश तिमिल्सिनाले गर्नुभएको थियो ।
महोत्सवमा टिकट बिक्रीबाट रु। ६८ लाख २५ हजार आम्दानी भएको छ । त्यसबाहेक सिजनल र इसेवाबाट पनि टिकट बिक्री भएको थियो । त्यसको हिसाव गर्न बाँकी रहेको वाणिज्य संघका सदस्य उपेन्द्र बटालाले जानकारी दिनुभयो ।