दिवंगत नेता प्रदीप गिरि प्रति सम्मान

सम्पादकीय
समाजवादी आदर्शवान नेता प्रदीप गिरिको शनिबार निधन भएको छ भने आइतवार अन्तेष्ठि भएको छ । उसो त मेडिसिटीमा उपचारकै क्रममा गिरिको निधन भएको भन्दै श्रद्धाञ्जली पनि आए । अस्पतालले शनिबार मात्र निधनको पुष्टि गरेको हो । समाजवादका चिन्तक गिरिको आदर्शसंग सबैजसो नजिक
थिए । संसदमा बोल्नका गिरि उभिएपछि अरु सांसद एकाग्र भएर कुरा सुन्थे । संसदमा बोल्दा प्रष्ट आफ्नो बिचार राख्ने आदर्शवादी नेताले आफ्नो छवि बचाएका थिए । आदर्श पुरुष थिए र पो त सबैले सम्मान मात्र गरेनन् समाजवादको आदर्श ढल्यो भनेर समिक्षा गरेका छन् । एउटा आदर्श पुरुषको निधन भएपछि राष्ट्रपति देखि प्रधानमन्त्री सबैले शोक प्रकट गर्नुभयो । गिरिलाई श्रद्धाञ्जली दिनेहरुको ठूलै लर्काे थियो । आदर्शवादी नेताको निधन भएकोमा दुखी हुँदै श्रद्धाञ्जली दिने र सामाजिक सञ्जालमा लेख्नेहरु प्रसस्त छन् तर गिरिबाट प्रेरणा लिने सवालमा सबै टाढा छन् । आदर्श व्यक्तिलाई भ्रष्टहरुले पनि गुनगान गाउूदै श्रद्धाञ्जली प्रकट गरेका छन् । समाजमा गिरि जत्तिकै केही प्रतिशत नेताहरुले स्थान पाएको भए आज नेपाली समाज भ्रष्ट हुने थिएन । गिरि जस्ता आदर्शवानलाई मौका दिएको भए देशको अर्थतन्त्र अहिलेको जस्तो हुने थिएन । बजेट बनाउँदा सहरलाई सम्झनेहरु मन्त्री भए तर गाउूलाई सम्झने गिरि जस्ता नेताहरुलाई पाखा लगाउने काम भयो । गिरिले एकपटक संसदमा आलू र प्याजमा कसलाई सिचाई चाहिन्छ भनेर थाहा नपाउनेलाई अर्थमन्त्री बनाउूदा उत्पादन बढ्न नसकेको टिप्पणी गर्नुभएको थियो । आज आदर्शवादी नेता हुन या समाजका अगुवा सदस्यहरु हुन् सबै ओझेलमा परेका छन् । राज्य आतंक मच्चाउनेहरु सत्ता र शक्तिमा छन् अनी गिरि जस्ता सन्त र आदर्शवादीका कुरा कसले सुन्ने ? आज जनता पनि कहाँ सुबिधा पाइन्छ भनेर साथ दिन्छन् तर आदर्शवादीलाई साथ दिएपछि शान्ति र देशको प्रगति हुन्छ भन्ने बारेमा बुझेको पाइदैन । एउटा आदर्श पुरुष मुलुकले मात्र होइन दक्षिण एसियाले गुमाएको छ । गिरिलाई आदर्श मानेर श्रद्धाञ्जली दिनेहरुले केही प्रतिशत मात्र गिरिको व्यबहारलाई अनुसरण गर्ने हो भने देशको कायापलट हुन्छ । दिवंगत नेता गिरिलाई नेपाली समाजले युग युगसम्म सझिने छ ।