पुस्तकालयको पांचौं साधारणसभा, पुस्तकालय अहिलेको युग अनुसार सञ्चालन हुनुपर्छ: प्रदेश प्रमुख जोशी

टीकापुर, १२ भाद्र/सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पुस्तकालयलाई अहिलेको युग अनुसार सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।
टीकापुर सामुदायिक पुस्तकालय को पाँचौ साधारण सभालाई शनिबार टीकापुरमा सम्वोधन गर्दै प्रमुख जोशीले औपचारिक शिक्षा अनुकूल नभएका मानिसका लागि पुस्तकालय महाविद्यालय र ज्ञानको भोक मेटने स्थान भएको बताउनु भयो ।
प्रमुख जोशीले पुस्तकालय अनौपचारिक महाविद्यालय हो, पुस्तकमा मान्छेको मन, समाज र देश बदल्न सक्ने शक्ति हुन्छ, पुस्तकालयमा भएका पुस्तक र आउने पाठकले यहाँको समाजको अवस्था झल्काउने बताउनुभयो ।
प्रमुख जोशीले पुस्तकालयलाई आवश्यक पर्ने सहयोग गर्न पहल गर्ने आश्वासन दिनुभयो ।


कार्यक्रममा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले प्रविधियुक्त पुस्तकालय सञ्चालनका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो । पूर्व सांसद गंगाबहादुर कुँवरले पुस्तकालयले कम्प्यूटर शिक्षामा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष धनञ्जय तिमिल्सिना, यज्ञमूर्ति अर्याल, रामचन्द शर्मा कट्टेल, नेपाली काँगे्रसका नगरसभापति नरेशकुमार खत्री, जनता समाजवादीका बीरेन्द्र साउद लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नियमित पाठकका रुपमा बालकृष्ण खनाल र कर्मचारी रेखा गिरीलाई सम्मान गरिएको छ । पुस्तकालयका अध्यक्ष लोकबहादुर खडकाले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपाअध्यक्ष तारा प्रसाद जोशी र सञ्चालन कण्ठराज गिरीले स्वागत गर्नु भएको थियो ।
दातृ संस्था र विभिन्न तहका सरकारको लगानीमा पूर्वाधार तयार भएका ग्रामिण क्षेत्रका पुस्तकालयहरु प्रशासनिक खर्च अभावमा सञ्चालनमा कठिनाई भैरहेको सञ्चालकहरुको भनाई छ ।