बजारमा जिराको मूल्य दोब्बरबढी १२ सयदेखि १४ सयमा बिक्री हु“दै

टीकापुर, ०९ असोज/हरेक तरकारीमा मसलाका रुपमा प्रयोग हुने जिराको मूल्य उच्च भएपछि उपभोक्ता मर्कामा परेका छन् ।
जिराको मूल्य एक वर्षमै दोब्बर बढी बढेपछि उपभोक्ता किन्न नसक्ने गुनासो गर्न थालेका छन् ।
उपभोक्ताहरु एकै वर्षमा पटक पटक गरी जिराको मूल्य उच्च भएको बताउँछन् ।
प्रायः सबैको भान्सामा जिरा हुन्छ । जिरा जुनसुकै तरकारीमा खपत हुन्छ । हरेक तरकारी जिरा बिना पकाउने निकै कम हुन्छन् । मसलाका रुपमा प्रयोग हुने जिराको मूल्य बढेर उपभोक्तालाई प्रयोग गर्नै कठिन भएको छ । एक वर्षमा मात्रै पटक पटक मूल्य बढेर उपभोक्ता हैरान भएका छन् ।
जिराको मूल्य अत्यधिक महंगो भएपछि नकिनेरै फर्किएको टीकापुरकी रुपा शर्माले बताउनु भयो ।
‘‘गत वर्ष ५ सय रुपैया केजी जिरा किनेकी थिए । यस वर्ष १४ सय पर्छ भन्दा तर्सिए’’, उहाँले भन्नुभयो, ‘‘यस वर्ष जिराको मूल्य सुनेर तर्सिए । नकिनेरै आए । बढे पनि १ वा २ सय बढ्नुपर्ने । पोहोरको भन्दा तेब्बर मूल्यमा किनेर कसरी          खानु ’’ जिराको मूल्य दोब्बरबढी भएपछि टीकापुर ८ धनसिंहपुरकी कमला साउँद जिराको मूल्य बढेकाले आजभोलि जिराको प्रयोग कम गर्न थालेको बताउनु हुन्छ । ‘‘पहिलेको जस्तो मनपरी तरिकाले जिरा प्रयोग गर्दैनौँ, आजभोलि थोरै प्रयोग गर्न थालेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘मंहगाईमा कमाइ बढ्दैन, मूल्य मात्रै बढ्छ । यस्तोमा जीवन कसरी सहज रुपमा चलाउन सकिएला ।’’
टीकापुरकी ईशा साउँद जिरा सँगै अन्य मसलाको समेत मूल्य बढी भएको बताउनुहुन्छ ।


जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको ब्यापारीको भनाइ छ । २०७९ माघमा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ८ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ ।
चैत २०७९ मा प्रतिकिलो ७ सय रुपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो ८५० रुपैयाँ थियो । अहिले होलसेलमा
जिराको बिक्री मूल्य १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरु बताउँछन् । अहिले बजारमा जिराको थोक मूल्य १२ सय देखि १४ सयसम्ममा बिक्री भइरहेको छ । रितिका मसला उद्योगका सञ्चालक जनक टमट्टाले गत वर्षभन्दा दोब्बर बढी मूल्य बढेको बताउनुभयो ।
हरिलाल किराना पसलका सञ्चालक अर्का ब्यापारी प्रदीप विष्ट पनि मसलामा प्रयोग हुने जिरासँगै अन्य मसलाको मूल्य अत्यधिक बढेको बताउनु भयो ।
भारतमा जिराको उत्पादनमा ह्रास आएपछि जिराको मूल्य बढेको व्यापारीहरुको दाबी छ । जिरा उत्पादन गरेर बिक्री गर्ने मुलुक भारत आफैं जिरा आयात गरिरहेको होलसेल व्यवसायी हरुको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ ।
बजारमा बिक्रीमा राखिएको जिरा गुणस्तर अनुसारको मूल्य छ । जिरा १२ सयदेखि १४ सयसम्ममा बिक्री भइरहेकाले उपभोक्ताले किन्दा समेत गुणस्तरमा ध्यान दिनुपर्छ ।