टीकापुर,१३ माघ/ मानव धर्म सेवा समितिले विभूजी महाराजको जन्मदिनको अवसरमा कैलालीका विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । सेवा समितिले टीकापुर ४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयका २१० बालबालिका, टीकापुर १ स्थित आधारभूत विद्यालयका १८, भजनी ७ हिम्मतपुरस्थित मनमोहन स्मृति आधारभूत विद्यालयका ८१, कैलारी ७ रतनपुरस्थित सरस्वती आधारभूत विद्यालय ४२ जना र पशुपति विद्यामन्दिर भुइयाफाटा कैलारीका १२३ जना गरी ४७४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
बालबालिकाको शिक्षा आर्जनमा सहयोग पुगोस् भनी नेपाल मानव धर्म सेवा समितिले विभूति महाराजको जन्मदिनको अवसरमा शैक्षिक सामग्री सहयोग गरेको सेती क्षेत्र प्रमुख क्षमा बाइजीले बताउनुभयो ।

बाइजीले मनको शान्ति नभएकाले मानिसको मन विचलित भइरहेको अवस्थामा सुख, खुसी र अशान्तिबाट शान्ति खोज्नका लागि आफ्नो लागि समय दिन र ध्यान र चिन्तनमा समय लगाउन आग्रह गर्नुभयो । उहाँले मानिसहरु आफ्नै कर्मले गर्दा अशान्ति भइरहेको बताउँदै धानका माध्यमबाट असल कर्ममा लाग्न सकिने सत्संग र भजनमा आफूलाई भुलाउन सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै हितैसी बाइजीले जसले गुरु ज्ञान प्राप्त गर्यो उसैले आनन्दमय जीवन बिताउने बताउँदै यो समयमा आनन्दमय मोती प्राप्त गरेर खुसी हुन आग्रह गर्नुभयो ।
उहाँले मानिसभित्र भएको रामलाई जगाउन गुरु ज्ञान लिनुपर्ने बताउँदै साधना गरेमा राम सीता आफैभित्र प्रकट हुने बताउनुभयो । अहिलेको समाजमा युवाहरुले ज्ञान प्राप्त नगरेर जीवन बर्बाद गरेको देख्दा चिन्ता लाग्ने गरेको बताउनुभयो । रणसँगै सामाजिक कार्य समेत गरेको देख्दा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न शाखाबाट उपस्थित प्रेमीहरुले भजन किर्तन प्रस्तुत गर्नुभएको थियो ।
मानव धर्म सेवा समिति टीकापुरका अध्यक्ष नरेश कुमार खत्रीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव दीपक धिताले गर्नुभएको थियो ।