सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भन्नु अस्वभाविकः स्थानीय,वडाध्यक्ष भन्छनः बरु नष्ट हुँला भ्रष्ट हुदैन

टीकापुर, १४ असार/जानकी गाउँपालिका–९ का स्थानीयले सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको भन्ने कुरा पत्याउनै नसकिने बताएका छन् । जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको भनी केही स्थानीयले न्यायिक छानविन हुनुपर्ने बताउँदै आएका छन् ।
समाजसेवी ललित ताम्राकारले सादगी जीवन बिताउने खकेन्द्र भण्डारी आर्थिक र सामाजिक रुपमा विचलित हुने व्यक्तिको रुपमा आफूले नपाएको बताउनु भयो ।
पूर्व गाविस सचिव हर्कबहादुर रावलले आफू गाविस सचिव हुँदाको अनुभव सुनाउँदै जनताको सेवामा लागेका कर्मचारीलाई एकोहोरो रुपमा भ्रष्टाचारी भन्नु गलत भएको र आरोप लगाउनेहरु समाजबाट एक्लिदै गएको बताउनु भयो ।


समाजसेवि हिरालाल भाटले आफ्नो बुवाको मृत्यु भएको धेरैपछि मृत्यु दर्ता गरेको भन्दै हल्ला चलेपछि कार्यालयको रेकर्ड हेर्दा मृत्युपछि कुनै भत्ता खर्च नलेखिएको बताउनु भयो । साउनी राजीले सम्पूर्ण परिवारको भत्ता आफूले बुझ्दै खर्च गरेको बताउनु भयो । यस्तै एकल महिला देउमा दमाइले एकल महिलाहरुले भत्ता बुझ्दै आएकोमा अफवाह फैलाएकोमा दुःख व्यक्त गर्नुभयो ।
समाजसेवी गोविन्द विष्टले भत्ताको विषयले समाजमा द्वन्द्वको अवस्था सृजना भएको र भ्रष्टाचार भए छिटो न्यायिक निरुपण हुनुपर्ने तर आजसम्म लाभग्राहीहरु र तिनका आफन्त कसैले भत्ता हिनामिना भएको भन्ने नसुनेको बताउनु भयो ।


तत्कालिन वडा सचिव प्रेम बहादुर बुढाले भ्रष्टाचार भयो भनिएको ४ वर्षमा जम्मा भत्ता ७ करोड १० लाख ४६ हजार रुपियाँ आएको जसमध्ये लाभग्राहीको मृत्यु लगायतका कारणले ९ लाख ६२ हजार बैंकमा फिर्ता गरिएको र ७ करोड ८४ हजार भत्ता मात्रै बितरण गरेको जानकारी दिनु भयो ।
स्थानीयहरुले व्यक्तिको मृत्युपछि एक पटक भत्ता पाउने गरेको अशक्त लाभग्राहीले घरैमा भत्ता पाउने गरेको अवस्थामा वडा सचिव र वडाध्यक्षले भत्ताको रकम हिनामिना गरेको भन्ने कुरा विश्वासै गर्न नसकिने बताएका छन् । यस्तै ४ वर्षको अवधिमा वडामा आएको सबै पैसा भन्दा बढी रकम भ्रष्टाचार भयो भन्नु र केही मिडियाले यसैलाई समाचार बनाएर भ्रम छर्ने काम गरेको बताएका छन् ।
वडाध्यक्ष खकेन्द्र भण्डारीले केही व्यक्ति राजनीतिक प्रतिसोध राखेर आफूलाई बदनाम गराउन लागि परे पनि आफू नष्ट हुन सक्ने तर भ्रष्ट नहुने प्रतिवद्धता जनाउनुभएको छ । वडाध्यक्षकै आवहानमा भएको भेलामा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरु, विभिन्न राजनीतिक दलमा आस्थावान व्यक्तिहरु, समाजसेवी बुद्धिजीवीहरु उपस्थित थिए ।


वडाले लाभग्राहीलाई नगदै भत्ता बुझाउने बेलामा केही मानिसहरु मृत्यू भैसकेपछि पनि घरकासदस्यहरुले भत्ता बुझेका छन् । यसको विरोध जनाउनेहरुले मृतकका नाममा पैसा भुक्तानी भएको र त्यो रकम लाभग्राहीले नपाई वडाका मानिसले भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । आयोगले जानकी गाउँपालिका, वडा नं को कार्यालय र हिनामिना गरिएको भनिएका लाभग्राहीका घरघर पुगेर बयान लिइसकेको छ तर यस विषयमा मुद्दा नचलाएको भन्दै केही स्थानीयहरु बेलाबेला विरोध गर्दै आएका छन् । वडाध्यक्ष भण्डारी विरोध जनाउनेहरु व्यक्तिहरु विभिन्न घटनामा मुछिएका, आफूले पनि विरोध जनाउने गरेको र २०७९ को निर्वाचनमा चुनाव हारेपछि उग्रभएको बताउनु हुन्छ । राजनीतिक पूर्वाग्रहको उजुरी का मुद्दा दर्ता हुन नसक्ने र भैहालेमा पनि सम्वन्धित निकायले छानविन गर्दा कुनै भ्रष्टार भएको ठहर पनि नहुने दावी गर्नुभएको छ ।