साहित्यकार पहलमान सिंह स्वाँरको १४७ औ जन्मजयन्तीको अवसरमा टीकापुरमा साहित्यिक अन्तरक्रिया

टीकापुर, ७ मंसिर/साहित्यकार पहलमान सिंह स्वाँरको १४७ औ जन्मजयन्तीको अवसरमा टीकापुर मा साहित्यिक अन्तरक्रिया तथा विचार गोष्ठी आयोजना भएको छ । देवकोटा साहित्य कला परिवार टीकापुरको आयोजना तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढी को सहकार्यमा कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष बलबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढी कैलालीका उपकुलपति डाक्टर टिएन जोशी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै डाक्टर जोशी ले स्वर्गिय पहलमानसिँह स्वार नेपालको साहित्य र नाटक क्षेत्रमा सुदूरकै ताराका रुपमा स्थापित भएका बताउनुभयो । अछाममा जन्मिएका स्वाँरको नाटक एशिया मात्र नभइ विश्वमै चर्चित भएकाले नेपाललाई नाट्य क्षेत्रमा चिनाउन उहाँको योगदान सम्झिरहन यो कार्यक्रम भएको बताउनुभयो । उहाँले पहलमानसिँहलाई सम्झन, प्रज्ञा प्रतिष्ठानले नियमित कार्यक्रम गर्ने गरेको बताउँदै अबका युवापुस्तालाई उहाँको योगदानबारे सिकाउन पाढ्यक्रम मै उहाँको बारेमा समेटिनुपर्ने बताउनुभयो  ।
कार्यक्रममा पूर्व सांसद यज्ञराज पाठकले सूर्य पूर्वबाट उदाए पनि साहित्य सुदूरबाट उदाउँछ भनी सन्देश दिएको बताउनुभयो । साहित्यकार पहलमान सिंह स्वाँरका आफन्त चन्द्रभूषण सिंह स्वाँरले उहाँले राष्ट्रिय विभूति उपाधि पाएको प्रसंग कोट्याउदै उहाँको जीवनको चर्चा गर्नुभयो ।
 देवकोटा साहित्यकला परिवारका सचिव कान्तिप्रसाद ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कण्ठराज गिरीले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक रेडियो टीकापुर एफएमका अध्यक्ष डाक्टर योगेन्द्रप्रसाद बजगाई, समाजसेवी धनञ्जय तिमिल्सिना, नागरिक समाज टिकापुरका संयोजक भीमराम चपाई, शुभनाथ देवकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा साहित्यकार कर्णबहादुर थापा, बालकृष्ण खनाल,अनुषा चौधरी लगायतले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
सोही अवसरमा विभिन्न विधाका विजेतालाई पुरस्कार वितरण  गरेको छ ।
चित्रकलातर्फ पुस्कल नेपाली प्रथम, लक्ष्मी शर्मा द्वितीय, सिर्जना चौधरी तृतीय हुनुभएको छ । त्यसैगरी उद्धव जोशी र रेणुका डगौरा सान्तवना हुनुभएको छ ।
हाजिरी जवाफतर्फ तेजराज न्यौपानेको समूह प्रथम, अनुष्का चौधरीको समूह द्वितीय र सोहन चौधरीको समूह तृतीय भएको छ ।
त्यसैगरी निबन्ध प्रतियोगिता तर्फ सन्तोष खनाल प्रथम अस्मिता न्यौपाने द्वितीय र मिना परियार तृतीय हुनुभएको छ ।