सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी ,२८ पुस/सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ ।
अन्ठाउन्न वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुनु        हुन्छ । उहाँ हालै सम्पन्न निर्वाचनमा एमाले को समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गर्नुभएको थियो ।
उहाँलाई नेकपा (माओवादी केन्द्र) का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक गरी २९ जना सदस्यको समर्थन रहेको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको प्रदेश सभा सदस्यको टोलीमा एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टसहितका प्रदेशसभाका सदस्य सम्मिलित हुनुहुन्थ्यो ।
प्रदेश प्रमुख जोशीले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सदस्यलाई मुख्य मन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न एक हप्ताको समय दिनुभएको थियो । केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादी ले आलोपालो गर्ने सहमति भएको थियो । प्रदेश सभाको सभामुख माओवादीले पाउने सहमति केन्द्रिय सत्ता गठबन्धन मा भएको थियो ।
मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्यको समर्थन जुटाउन सकस भएको थियो । बुधबार अपराह्न ४ः३० बजेसम्म पनि कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टीले भने तोकिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलका पक्षमा बहुमत पुर्याउन समर्थन जनाएको थियो ।
सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइ नगरिएसम्म सरकारमा सहभागी नहुने र सरकार गठनमा समेत सहयोग नगर्ने अडान राख्दै आएको थियो ।
प्रदेशसभाको ठूलो दल कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एकजना सदस्य छन् ।