सम्पदकीय
टीकापुर महोत्सव २०८१ का प्रमुख अतिथि र बिशिष्ट अतिथि संघिय सरकारका नागरिक उड्यन तथा पर्यटन मन्त्री बद्रि पाण्डे र राज्य मन्त्री अरुण चौधरी हुन ुहुन्थ्यो । मन्त्री पाण्डे कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ भने राज्य मन्त्री चौधरी नागरिक उन्मुक्तिका नेता हुनुहुन्छ । यस पटकको महोत्सव उद्घाटन समारोहमा टीकापुर क्षेत्रका नागरिकमा एउटा उत्साहा र भावना थियो । त्यसैले पहिलो महोत्सव छाडेर बाँकीका महोत्सव भन्दा यस पटकको महोत्सव उद्घाटनमा उल्लेख्य उपस्थिति थियो । नागरिकको चासो भएको हवाई मैदान निर्माणका बारेमा मन्त्री र राज्यमन्त्री केही बोल्छन् की भन्ने सोच सबैमा थियो । यहाँ हल्ला गरिएजस्तो नगरपालिकाले हवाई उडान नियमित गर्ने होइन । हवाई उडान नियमित गर्ने देखि जग्गाको मुआव्जा र धावन मार्ग कालोपत्रे गर्ने काम मन्त्रालयको हो । टीकापुरमा श्रेय लिन होडवाजी अलि बढी हुन्छ । यसको स्वार्थ हो आफु नेतृत्वमा पुग्ने र अरुलाई अवसरबाट बञ्चित गर्ने । महोत्सवमा राज्यमन्त्री र मन्त्री दुबैले टीकापुर हवाई मैदानका बारेमा भन्दा आदर्शका कुरा बढी गरे । जनता चाहन्थे हवाई मैदानका बारेमा ठोस कुरा भनुन् । तर दुबैले ठोस कुरा गरेनन् । अहिलेसम्म हवाई मैदानको क्षेत्रपल अपुग भयो भन्ने छ । क्षेत्रपलका बारेमा कसैले के, कुरा कसैले के कुरा गर्दै आएको अवस्था हो । मन्त्री नै आएपछि सत्य तथ्य भन्लान भनेर महोत्सवमा आएका जनताले कान थापेर सुने तर आशा गरेको कुरा आएन । हवाई मैदान बारे वास्तविक कुरा के हो भन्ने बारेमै फरक कुरा आएका छन् । सुदुरपश्चिमको कांग्रेसको नेता नागरिक उड्यन तथा पर्यटन मन्त्री भएका बेला टीकापुरको हवाई मैदान नियमित हुन्छ , मुआव्जाका लागि बजेट छुट्याउने र कालोपत्रे काम हाम्रै पालामा हुन्छ भनेर कतिबेला भन्लान भनेको त मन्त्रीले मोडालिटीको कुरा गर्नुभयो त्यही राज्यमन्त्री १५ करोड भए काम हुन्छ भनेर कुरा गर्नुभयो । राज्यमन्त्रीले हवाई मैदान नियमित नगर्ने भए मन्त्री पदबाट राजिनामा दिनु पर्छ भनेर आफ्नो पार्टीका संरक्षकले भनेको कुरा गर्नुभयो । राज्यमन्त्रीले मात्र भनेर हुने भए मन्त्री किन चाहिन्थ्यो ? राज्यमन्त्रीले १५ करोड रुपैया भनिरहदा मन्त्रीले प्रष्ट भनेको भएपनि जनताले बुझ्ने थिए । यो नै टीकापुरका लागि दुर्भाग्य हो । टीकापुर एक भएर महोत्सव भइरहेको छ । एक भएर आयोजना भएको कार्यक्रमले एउटा अवसर पाउछ भन्ने सोच हुनु स्वभाविकै भएपनि मन्त्रीको व्यबहारबाट टीकापुर खुसी हुने अवस्था छैन । मन्त्रीले टीकापुरको बारेमा धेरै बुझेर कम बोल्नुभएको हो या बुझेर काम गर्न नसकिने अवस्था भएका कारण नबोल्नुभएको हो उहाँहरुलाई थाहा होला तर महोत्सव उद्घाटनमा आशा गरिए अनुसार टीकापुरका जनताले आश्वासन पाएनन् । तै पनि टीकापुर को विकासमा यस क्षेत्रका राजनीतिक दल,समाजसेवी एक भएर प्रयास गर्न जरुरी छ । हाम्रो ठाउँको विकास हाम्रै पहल र मेहनतमा हुने हो । अरुले आएर टीकापुरको विकास गरिदिने होइनन् । यो कुरा बुझ्न जरुरी छ ।