प्रदेश नीति तथा योजना आयोगको सदस्यमा प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावल नियुक्त

टीकापुर, ३१ भाद्र/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको रिक्त उपाध्यक्ष र सदस्य पदमा मनोनयन गरेको छ ।
आयोगको रिक्त उपाध्यक्ष पदमा मोहनदेव विष्टलाई नियुक्त गरेको छ । विष्ट यसअघि आयोगको सदस्य हुनुहुन्थ्यो । यस्तै सदस्य पदमा प्राध्यापक डाक्टर जगबहादुरसिंह रावललाई नियुक्त गरेको छ ।
विहीबार आयोगको कार्यालय मा आयोजित एक कार्यक्रममा उपाध्यक्ष विष्टलाई मुख्यमन्त्रीले र सदस्य प्राध्यापक डाक्टर रावललाई उपाध्यक्ष विष्टले पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।
प्रदेशको सुशासन दिगो विकास तथा समृद्धिका लागि आवधिक योजनाको तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन मुल्यांकन गर्न, नीति अनुसन्धान र विकास गर्न, प्रदेश सरकारलाई सल्लाह सुझाव र सहयोग गर्न प्रदेश नीति तथा योजना आयोग गठन गर्ने व्यवस्था छ ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगको एक उपाध्यक्ष, एक महिलासहित दुई जना सदस्य प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ ।
नीति तथा योजना आयोगको सदस्य नियुक्त भएपछि प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले सुदूरपश्चिम प्रदेश सरकारले दिएको जिम्मेवारीलाई सबै जिल्लाका आवश्यकता हेरी इमान्दारितापूर्वक योजना बनाएर पूरा गर्ने बताउनुभयो ।


प्राध्यापक डाक्टर रावल हाल सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । रावलले कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी मा विद्यावारिधि गर्नुभएको छ । रावल दुई दशकदेखि टीकापुर बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख भई प्राध्यापनरत हुनुहुन्छ ।
उहाँ वीरेन्द्र विद्या मन्दिरको उच्चमावि तहको संस्थापक प्रिन्सिपल भई काम गरिसक्नु भएको छ ।
प्राध्यापक रावल नेपाल जेसीज, नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, जालवादेवी सेवा समिति लगायतका संस्थाहरु को संस्थापक हुनुहुन्छ ।