गैर जिम्मेवार जनप्रतिनीधि

सम्पादकीय
टीकापुर नगरपालिकामा कति गैर जिम्मेवार जनप्रतिनीधि छन् भन्ने कुरा बजार क्षेत्रको धुलोलाई हेरेपछि प्रष्ट हुन्छ । आम नागरिकको स्वास्थ्यमा गम्भिर असर पार्ने धुलो बजार क्षेत्रमा उडिरहेको छ तर जनप्रतिनीधि बेखवर छन् । माटोको धुलो भए धेरै समस्या हुने थिएन । यो त ढुगांबाट निस्केको कर्ण हो । यस्तो धुलोले स्वास्थ्यमा बढी नोक्सान गर्छ । धुलो कम होस् भन्नका लागि दैनिक दुई पटक पानी हाले पुग्छ । धेरै समस्या केही छैन । बाटो पक्की नहुँदासम्म दिनहुँ पानी हाल्न लगाउन पनि नसक्ने हो भने यस्ता जनप्रतिनीधबाट अरु धेरै केही आशा गर्न सकिदैन । जनजीवनमा प्रत्यक्ष असर पर्ने विषयमा गभिंर नहुने जनप्रतिनीधिले विकास गर्छन् भनेर कसरी सोच्ने ? बजार क्षेत्रको मुख्य सडकमा निर्माण कम्पनीलाई पानी हाल्न लगाउन त सक्नु प¥यो । आफु यो सडकमा ननिस्कने अनी जनताको समस्याका बारेमा कसरी थाहा हुन्छ ? जनप्रतिनीधि गैरजिम्मेवार त भए भए उद्योग बाणिज्य संघका पदाधिकारका पनि चुपचाप बसेका छन् । बजारमा किनमेल गर्न आउने ग्रहाकलाई धुलोले पिरोलेको बिषयमा संघका पदाधिकारीले नगरपालिकामा गएर दबाब दिनुपर्ने हो । व्यापारीको हकहितका कुरा गर्ने अनी व्यापारीको समस्याका बारेमा दबाब नदिने हो भने संघले के काम गर्दाे रहेछ ? उता राजनीतिक दलका नेताहरु पनि जनताको सवालमा चुपचाप बसेका छन् । सामान्य कुरामा नगरपालिकामा गएर सचेत गराउने प्रचलन छैन टीकापुरमा । जनप्रतिनीधि लाई सचेत गराउने काम स्थानीय जनताको हो । अघिपछि यस्तो उस्तो भन्ने अनी नागरिकका समस्या लिएर नगरपालिका किन नजाने ? तसर्थ उद्योग बाणिज्य संघ र स्थानीय राजनीतिक दलका नेताहरुले सडकको धुलो कम गर्ने बिषयमा दबाब दिन जरुरी छ । हुन त यत्तिको कामको लागि दबाब नभएपनि हुने थियो तर काम नभएपछि घचघच्याउनु संघका पदाधिकारी र राजनीतिक दलका नेताहरुको कर्तव्य हो । यसमा सबै जाग्न जरुरी छ । आफ्ना बिषयमा नजाग्नेहरु अरु के मा जाग्ने ?