समयमै पाइने सूचनाले सुविधा, अवसर पाइन्छ ः जनप्रतिनिधि

टीकापुर, १४ असार/टीकापुरमा सूचनाको हक सम्बन्धी जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण गरिएको छ । सूचनाको महत्व र सूचनाको हकबारे भएका कानूनी व्यवस्था र यसको प्रयोगबारे जानकारी दिन कार्यक्रम भएको हो ।
टीकापुर नगरपालिका वडा नं। ९ का वडाध्यक्ष लौटन चौधरीले सूचनाको हक पाउँदा धेरै सुविधा, अवसर पाइने भएकाले आफूहरु सूचनाकै कारण यहाँसम्म पुगेका बताउनु भयो । वडाध्यक्ष चौधरीले सूचनाको हक सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै टीकापुरमा रहेका हाइमास्क बत्तीको रकम पालिकाले तिर्न नसकेर लाइन काटिएको बताउनुभयो ।
उहाँले विषयगत समितिका संयोजक र सदस्यलाई आफू बसेको समितिको काम, कर्तव्य र अधिकारबारे समेत जानकारी नभएकोले समस्या भइरहेको बताउनु     भयो ।
टीकापुर ६ का वडाध्यक्ष बलिराम चौधरीले सूचना लिन र दिन कञ्जुस्याई गर्न नहुने, सूचना को गोपनियताबारे समेत जानकारी भएको बताउनुभयो ।
कार्यपालिका सदस्य रामबहादुर नगार्जीले सूचना भनेको महत्वपूर्ण विषय रहेछ भन्दै सुचना पाएमा दुर्घटना हुनबाट जोगिन सक्ने र सूचना नपाएमा दुर्घटना समेत हुनसक्ने भएकाले यो विषय महत्वपूर्ण रहेको बताउनुभयो ।
टीकापुर ३ की वडा सदस्य कमलादेवी विश्वकर्माले पहिलो पटक सूचनाको हकबारे तालिम पाएको, यस्ता तालिम थप आवश्यक रहेका बताउनुभयो ।
वडा नं। ४ का वडा सदस्य तुल्सादेवी विकले सूचना लिने र दिनेको दायित्वबारे सिकाइ भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कैलाली को आयोजना तथा टीकापुर नगरपालिकाको सहयोगमा भएको दुई दिने अभिमुखिकरण कार्यक्रम मा पत्रकार मनमोहन स्वाँर, एकिन्द्र तिमिल्सिना, रञ्जु आचार्य लगायतले सहजीकरण गर्नुभएको थियो ।