सम्पादकीय
देशको अवस्था नाजुक छ । यो नाजुक शव्द बिद्धानहरुले केही बर्षदेखि रट्दै आएका छन् । देशको अवस्था नाजुक भएको कुरा बुद्धिजीविले गर्दै गर्दा नेताहरु भने गम्भिर भएको पाइदैन । सत्तामा गएपछि सब ठिकठाक छ भन्ने गरेका छन् । देशको आर्थिक अवस्था कमजोर छ तर नेताहरु सुधार्न तयार छैनन् । नेताहरु सत्य कुरा जनतालाई भन्न पनि तयार छैनन् । जनतालाई गुमराहामा राखेर सत्ता टिकाउने प्रयासमा लागेका छन् । गणतन्त्रमा दिनप्रतिदिन असन्तुष्टि बढ्दै गएको छ । यो असन्तुष्टिको झोकमा समाजमा राम्रा मान्छे समेत उस्तै हुन् भनेर सामान्यकरण गर्ने प्रचलन बढेको छ । समाजमा सबै मान्छे खराब छन् र सबै राजनीतिक दलमा खराब मान्छे मात्र छन् भन्नु गलत हो । अवसर पाएका मान्छेहरु बद्नाम भएको अवस्था छ तर यसको मतलव सबै तिनै मात्र हुन् भन्नु पनि गलत हो । अवसर पाएर काम गर्न नसकेका र सामाजमा बद्नाम भएकाहरुलाई बहिस्कार गर्ने हो भने राम्रा मान्छे नेतृत्वमा पुग्ने अवसर पाउँछन् । राम्रा मान्छे नेतृत्वमा पुग्ने हो भने देशको अवस्था सहज रुपमा सुधार हुन्छ । नेपालको राजनीतिमा धेरै नेताहरु असफल भइसकेका छन् । बालेनले काठमाण्डौंमा राम्रो काम गरेको देशका नागरिकले मात्र होइन बिश्वभर बस्ने नेपाली र नेपालप्रति चासो राख्ने मान्छेले भन्ने गरेकाछन् । राम्रो कामको चर्चा हुँदो रहेछ भन्ने कुरा बालेनबाट सिक्न जरुरी छ । बिश्वभर प्रशंसा भइरहेको व्यक्तिका बारेमा नेपालका नेताहरुले भने असहयोग गरेको आभास हुन्छ । न आफु गर्ने न अरुलाई गर्न दिने संस्कारले देशको अवस्था नाजुक भइरहेको छ । बालेनले एकनासले राम्रो काम गरिरहेका छन् । यस्तो मेयरलाई ल राम्रो गर्नुहोस् हाम्रो पनि साथ हुन्छ भनेर प्रोत्साहन गर्नुको साटो काममा अबरोध गर्नु लाजमर्दाे कुरा हो । बालेनको बिरोध गर्ने राजनीतिक दलका नेताहरुले आफ्ना जनप्रतिनीधिलाई राम्रो काम गर भन्न सेको पाइदैन । आफ्ना पार्टीका जनप्रतिनीधि असफल भइरहेको अवस्थामा पार्टी भित्र समिक्षा गर्नुको साटो भ्रष्टहरुलाई बचाउने प्रयास गरेको पाइन्छ । राम्रो काम नगर्ने जनप्रतिनीधिलाई पार्टीले छानविन गरेर कारबाही गर्ने हो भने धेरै हदसम्म सुधार हुन्छ । हरेक पार्टीले आफ्ना जनप्रतिनीधिको काम निगरानी गर्न जरुरी छ । नागरिक सचेत भएर राम्रो नराम्रो छुट्याउन लाग्नुपर्छ ।