टीकापुरमा अभिभावक विहीन बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालनको तयारी

टीकापुर,२२ चैत्र/कैलालीको टीकापुर नगरपालिकाले अभिभावक विहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । नगरपालिकाले टीकापुर १ बनगाउँस्थित सरस्वती माविमा संरक्षण केन्द्र सञ्चालन को तयारी गरेको छ । विद्यालयमा ५० जना बालबालिका अट्ने संरक्षण केन्द्र यसअघि नै निर्माण भइसकेकाले सोही विद्यालयमा सञ्चालनका लागि सूचना निकालिएको छ ।
पालिकाले ४० जना विद्यार्थी लाई यस वर्ष नयाँ शैक्षिक शत्र बाट संरक्षणमा राख्न सकिने गरी तयारी थालेको छ । जसका लागि रु।२० लाख बजेटको व्यवस्था रहेको शिक्षा अधिकृत नरेश अवस्थीले बताउनुभयो । ‘‘अभिभावक विहीन बालबालिका को शैक्षिक विकासमा सहयोग पुगाउने उद्देश्य हो, बालबालिका को आवास तथा गासकै समस्या रहेकाले शैक्षिक विकासमा समस्या देखिएको छ’’, उहाँले भन्नुभयो, ‘‘अभिभावक नभएका बालबालिकाको संरक्षण पालिका को जिम्मेवारी हो । उनीहरुले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भएकाले हामीले संरक्षण केन्द्र सञ्चालन गर्न थालेका हौँ ।’’
पालिकाले शैक्षिक वर्ष २०८२ बाट लागू हुने गरी संरक्षण केन्द्र सञ्चालन गर्न थालेको जनाएको छ । केन्द्रमा पालिका भित्रमा स्थायी बसोबास भएका बालबालि का बस्न पाउनेछन् ।


सरस्वती मावि बनगाउँले विद्यार्थी भर्नाका लागि गएको माघ ३ गते नै सूचना निकालिसकेको छ । अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यबिधी, २०८१ प्रिच्छेद ५ को उपदफा १ बमोजिम सूचना निकालिएको प्रधानाध्यापक खगेन्द्र बहादुर घर्तीमगरले बताउनुभयो । ‘‘पालिकाले छात्राबासका लागि बजेट विनियोजन गरेको थियो, हामीसँग यसअघि नै छात्राबास छ’’, उहाँले भन्नुभयो, ‘‘विगतमा मुक्त कम्लहरी बसिरहेका थिए । उनीहरुले कक्षा १२ सम्मको पढाई सकेकाले छात्राबास खाली थियो ।’’ छात्राबास मा १६ वर्ष मुनिका बालबालिका लाई मात्र भर्ना लिइनेछ । असहाय केन्द्रमा बस्नका लागि हालसम्म करिव २० बालबालिकाले आवेदन भरेका छन् । पालिकाले संरक्षण केन्द्रमा राखेर अभिभावक विहिन बालबालिकालाई
कक्षा १२ सम्म लालनपालन र शिक्षा दिनेछ । जनप्रकाश आधारभूत विद्यालय टीकापुर ४ का प्रधानाध्यापक रघुनाथ उपाध्याय अभिभावक विहीन बालबालिकालाई विभिन्न संघसंस्थाले संरक्षण गरिरहेको अवस्थामा सरकार आफैँले दायित्व निर्वाह गर्नु सकारात्मक भएको बताउनुभयो । ‘‘सरकार आफैँले बाल बालिका संरक्षण गर्नु जिम्मेवारी बोध गर्नु हो’’, उहाँले भन्नु भयो, ‘‘बाल बालिकाको शिक्षामात्र नभइ पोषण र सुरक्षामा समेत सहयोग पुग्छ ।’’
अभिभावक बिमला चौधरी पालिकाले संरक्षण केन्द्र स्थापना मा सघाएमा अभिभावक नभएका छोरीहरुको सुरक्षा हुने बताउनु हुन्छ । ‘‘अभिभावक नभएका धेरै छोरीहरु अर्काको घरमा काम गर्नुपर्ने अवस्था छ, संघसंस्थाले पनि संरक्षणका नाममा काममा लगाउँछन्’’, उहाँले भन्नुभयो, ‘‘सरकारले व्यवस्था गरेमा उनीहरुका हरेक अधिकार सुरक्षित हुन्छन् । यो राम्रो कार्य हो ।’’