टीकापुर, १० असार/जोशीपुर गाउँपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको १४ औं गाउँसभा अबिधेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम ल्याएको हो ।
नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले नीति कार्यक्रममा जोशीपुर गाउँपालिका अन्तर्गत पर्ने काढाँ नदी तटिय क्षेत्रहरुमा बर्षेनी कटान तथा डुवानले क्षतिग्रास्त स्थानमा तट्बन्ध निर्माण आयोजना सञ्चालन गरिने बताउनुभयो ।
खानेपानी क्षेत्रगत सुशासन पुर्वधार सहयोग आयोजना अन्तर्गत विश्व बैंक, संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा जोशीपुर खानेपानी आयोजना, पटाउपुर खानेपानी आयोजना, लोखरी खानेपानी आयोजना र सार्वजनिक विद्यालय शौचालय निर्माण आयोजना सञ्चालन गरिनेछ । जोशीपुर गाउँपालिका वडा नं.१ बडहरिया स्थित निर्माणधिन रहेको कोल्ड स्टोर निर्माण गर्ने आयोजनालाई निरन्तरता दिई आगामी वर्ष निर्माण कार्य सम्पन्न गरिनेछ ।

जोशीपुर गाउँपालिका वडा नं.२ र ५ जोड्ने निर्माणधिन घैलानाला पुल निर्माण गर्ने आयोजना निरन्तरता दिई समयमा निर्माण कार्य सम्पन्न गरिनेछ ।
कृषि तर्फ किसानका बाली सम्वन्धी समस्या सामाधान गर्न बाली उपचार शिविर कार्यक्रम सञ्चालन गरिने, कृषि क्षेत्रको सुधारका लागि कृषिमा, व्यवसायीकरण कार्यक्रमलाई निरन्तरता दिइने छ । अनुदानमा उन्नत बीउ, रैथाने बीउ,तरकारी किट बीऊ, कृषि औजार, यन्त्र तथा प्रविधिहरु उपलब्ध गराइनेछ ।
प्रदेश सरकार तथा गाउँपालिकाको सहकार्यमा कृषि उपजलाई वस्तु तथा मुद्रा विनिमयको आधारमा खरिद गरी संकलन, भण्डारण, वितरण र बजारीकरण गर्न कृषि उपज संकलन तथा भण्डारण केन्द्र स्थापना गरिने नीति लिइएको छ । कृषिमा उत्पादन तथा उत्पादकत्व बढाउन बेमौसमी तरकारी उत्पादन कार्यक्रम, माटो परिक्षण कार्यक्रम,डिजिटल कर्षि व्यवस्थापन तथा मोवाइल एप कार्यमक्रम, एकीकृत कृषि बिकास जस्ता कार्यक्रम सञचालन गरिनेछ । जोशीपुर गाउँपालिका अन्तर्गत ओर्गानिक खाद्य्य बस्तु उत्पादन गर्न अर्गानिक मल प्रयोगमा जोड दिइने नीति लिइएको छ । वडा नं.१,२,३ र४ मा किसान सुचीकरण गर्ने कार्य भइ सकेको र आगामी आर्थिक बर्षमा बाँकी वडाहरुमा किसान सुचीकरण गर्ने कार्य सञ्चालन गरिने, उत्पादन, आय आर्जन वृद्धि गर्न व्यवसायिकरण जस्ता विषयमा कृषक क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गरिने नीति लिएको छ । पालिकालाई पशुपालन गर्ने पेशालाई व्यवसायिक बनाउन गाई भैसी स्रोत केन्द्र कार्यक्रम सञ्चालन गरिने, व्यवसायिक पशुपालन तालिम प्रदान गरिने, पशु स्वास्थ्य उपचार कार्यलाई प्रभावकारी बनाउन आधारभुत प्रयोगशालालाई थप व्यवस्थित बनाइ सेवा प्रदान गरिने नीति लिएको छ ।
स्वास्थ्य तर्फ नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन, स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत म स्वास्थ्य मेरो सामुदाय स्वास्थ्य घर टोलमा स्वास्थ्य प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिने नीति लिएको छ । क्षयरोग मुक्त पालिका बनाउन क्षयरोग मुक्त अभियान, गर्भवती महिलाहरुको निशुल्क रक्त परीक्षण, सुत्केरी गराउन गर्भवती महिलाहरुलाई गाउँपालिका भित्र निशुल्क एम्वुलेन्स सेवा र निशुल्क भिडियो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सिकलसेल एनिमिया भएका विरामीहरुलाई निशुल्क स्वास्थ्य वीमा कार्यक्रम, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र मुद्धिलाई १५ सैया अस्पतालको रुपमा स्तरोन्नती गरिने नीति लिएको छ ।
शिक्षा तर्फ बृहत विद्यालय सुरक्षा योजना संगै हरित विद्यालय योजना निर्माण गरि लागु गरिनेछ साथै बसाइसराईले विद्यालय शिक्षामा पारेको प्रभाव अध्ययन गरिने, विपदका कारण शिक्षण सिकाइमा भएको क्षति आपुरण गर्न वैकल्पिक माध्ययमबाट शिक्षण सामाग्री निर्माण गरी अतिरिक्त कक्षा का कार्यक्रम अगाडि बढाइनेछ ।
सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र कार्यालय सहयोगीको सेवा सुविधा नेपाल सरकारले आ।व। ०८२/८३ मा प्रदान गर्ने रकममा अपुग हुने रकम स्थानीय तहको आन्तरिक स्रोतबाट व्यहोरिने गरि व्यवस्था मिलाईनेछ । विद्यालय नक्साङ्कन गरि समायोजन गरिनेछ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रमका लागि साझेदारी कार्यक्रमलाई निरन्तरता दिइने, लैङ्गिक समानता र सामाजिक सशक्तिकरणका कार्यक्रमहरुमा दलित, जनजाति अल्पसंख्यक र अन्य सीमान्तकृत सामुदायको अर्थपुर्ण सहभागिता सुनिश्चित गरिने, नीति निर्माण र बजेट विनियोजनमा लैङ्गिक उत्तरदायी बजेट प्रणाली लागु गरिने नीति लिएको छ ।
सरसफाइ तथा खानेपानीका लागि जैविक अजैविक फोहोरको पुनः प्रयोग समन्धी विभिन्न खोज तथा अन्य ठाउँको असल अभ्यासलाई कार्यान्वयन मा ल्याइनेछ ।