‘राजनीतिमा महिला सहभागिता बढाउन दल जिम्मेवार बन्नुपर्छ’

दुर्गा देवकोटा
टीकापुर, ९ साउन/राजनीतिमा महिला सहभागिता बढाउने विषयमा कैलालीको टीकापुरमा छलफल भएको छ । टीकापुर नगरपालिकाको आयोजनामा स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्न टीकापुरका राजनीतिक पार्टी प्रतिनिधिहरुको भुमिकाका विषयमा छलफल भएको हो ।
राजनीतिक विश्लेषक कृष्ण खनाल राजनीतिक दल भनेका जनता र राज्यसत्ता बीच पुलजस्तै भएकाले महिला सहभागिता बढाउने विषयमा जिम्मेवार हुनु पर्ने बताउनुहुन्छ ।
‘‘संविधानले पनि महिलालाई चुनावका माध्यमबाट संघदेखि स्थानीय तहसम्म जनताको प्रतिनिधित्व गर्ने जिम्मा दिएको छ । नेपाली जनतामा विविधता छ, सबै जाति समुदायको हैसियत मा असमानता छ, महिला, दलित र कतिपय आदिवासी समुदाय पछाडि छन्’’, खनालले भन्नुभयो, ‘‘दलहरुले समाजको विविधता र असमानताको उचित सन्तुलन हुने गरी राज्य संस्थामा प्रतिनिधित्व गराउनुपर्छ। । महिलालाई धेरै भन्दा धेरै सहभागी गराउनका लागि पार्टी संरचना महिलामैत्री बनाउनुपर्छ ।’’
राजनीति विश्लेषक खनालले नेपालको पार्टी संरचनाहरू महिलामैत्री नभएका बताउँदै नेतृत्व र व्यवस्थापनमा पुरुषहरु हावी हुँदा महिला पछि परेका बताउनु    भयो । ‘‘पुरुष नै निर्णायक, पार्टीको अध्यक्ष÷सभापति हुँदा शक्तिशाली पनि उनीहरु नै भए’’, उहाँ भन्नुहुन्छ, ‘‘त्यसैले महिलाहरू पछाडि परे । महिला, दलित र सीमान्तकृत समुदायको प्रतिनिधित्व र सहभागिता कमजोर भयो ।’’
तथ्यांक हेर्दा टीकापुर नगरपालिकामा १८ जना महिला हुनु हुन्छ । नगरपालिकामा प्रतिशतका हिसावले ३८।२९ प्रतिशत महिला छन् तर भएका सबै सदस्य मात्रै छन् । प्रमुख, उपप्रमुख र वडाधयक्ष सबै पुरुष छन् । दलितहरु पनि २ जना वडाध्यक्ष सहित १२ जना नेतृत्वमा छन् ।
‘‘सहभागिता हेर्दा महिलाको राम्रो छ, तर महत्वपूर्ण पदमा पुरुष मात्रै छन्’’, उहाँले भन्नुभयो, ‘‘अब दलहरुले उम्मेदवार उठाउँदा महत्वपूर्ण पदमा पनि महिला उठाउनुप¥यो । महिला बढी उठाउन दल जिम्मेवार बन्नुपर्छ ।’’
समावेशिता र समान प्रतिनिधित्वका लागि महिलाका मुद्दा तथा आवश्यकता सम्बोधन गर्नका लागि पनि महिलाहरु राजनीतिमा आउनुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री डाक्टर रणबहादुर रावल बताउनु हुन्छ । ‘‘समाजमा सकारात्मक  परिवर्तन ल्याउन, लैङ्गिक समानता को वातावरण तयार गर्न धेरै महिलाहरु राजनीतिमा जोडिनुपर्छ’’, केन्द्रीय सदस्य रावल भन्नुहुन्छ, ‘‘राजनीति मा लागिरहेका महिलाहरुको ज्ञान विकासमा सघाउनु पर्छ, अन्य महिलाहरुलाई पनि राजनीतिमा सहभागी बनाउन पार्टी मात्र नभई सबैतिरबाट सहयोग हुनुपर्छ ।’’
डाक्टर रावल नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका अधिकार कार्यान्वयनमा सबैले जोड दिएमा महिलाको राजनीतिमा उपस्थिति वृद्धि हुनेमा जोड दिनु हुन्छ । ‘‘दलहरूले पनि महिलालाई नेतृत्वमा पु¥याउने काम गर्नुपर्छ, नेपाली काँग्रेसमा महिलालाई अघि बढाउने अभ्यास भइरहेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘टीकापुरमा ८९ हजार जनसंख्यामा ६ प्रतिशत महिलाको जनसंख्या बढी भएकाले महिला बढी राजनीतिमा आउनु पर्छ भन्नेमा ध्यान दिइनुपर्छ ।’’
दलित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधानसभा सदस्य लक्ष्मी परियार स्थानीय तहको निर्वाचनमा महिला नेतालाई पार्टीको निर्णायक तह र स्थानीय तहको निर्णायक तहमा कसरी ल्याउन सकिन्छ भनी थालिएको छलफलले केही आशा जगाएको बताउनुहुन्छ । ‘‘राजनीतिक दलले महिलालाई विश्वास नगर्ने, नेता नमान्ने समस्या अहिले पनि छ’’, उहाँ भन्नुहुन्छ, ‘‘एकपटक पालिका को वडा सदस्य भएको महिला वडाध्यक्ष, प्रमुख वा उपप्रमुख बनाउन दलले प्रयास गर्नुपर्छ । ती महिलाको क्षमता विकासका लाग तालिम, सीप विकासमा दलको पनि भूमिका हुन्छ ।’’
संविधान सभा सदस्य परियार महिलाको सहभागिता मात्र नभइ भूमिका बढाउन राजनीतिक दल को सहयोग रहनुपर्नेमा जोड दिनु हुन्छ ।
प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरी हरेक क्षेत्रमा संविधानले महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरे पनि कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनु हुन्छ । ‘‘घर व्यवहार, बालबच्चा स्याहारेर राजनीतिमा आएका महिलालाई दलले हौसला दिनुपर्छ, समाजले पनि हौसला दिनुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘क्षमताका नाम मा पुरुष बराबर खोज्न हुन्न । महिलामाथि बढी लगानी, प्रशिक्षण जस्ता कार्यमा सघाउनुपर्छ ।’’
चौधरी गठबन्धन गर्दाखेरि महिला ठगिएकाले अब आउँदा दिनमा दलले उम्मेद्वार एउटा÷ एउटा उठाउँदा महिला मात्रै उठाउन पाउनुपर्छ भनी नीति बनाउन आवाज उठाइरहेका बताउनुहुन्छ ।
टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य राजा रानी चौधरीले
स्थानीय तहका पदमा पुगेका महिलाको क्षमता विकास का लागि नेटवर्क निर्माण गर्ने, आर्थिक रुपमा सक्षम बनाउने प्रयास गर्ने, महिलाहरुलाई जनप्रतिनिधिलाई कानुनी ज्ञान दिन आवश्यक रहेको बताउनुहुन्छ । ‘‘आफू निर्वाचित भएर काम गरेको ३ वर्षसम्म पार्टीले कहिल्यै तालिम दिएको छैन, निर्वाचित भएपछि तपाइको भूमिका यस्तो हुन्छ भनी सिकाउनुपर्ने थियो’’,उहाँ भन्नु हुन्छ, ‘‘जिताउने मात्र होइन, त्यस पछि पनि पार्टीले सक्षम बनाउन सहजीकरणका कार्य गरिरहनु     पर्छ ।’’
टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी ओडले महिलाको सहभागिता मात्र नभएर महिलाको भूमिका बढाउन राजनीतिक दलको महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताउनु भयो । ‘‘नेपालको अहिले को अवस्था हेर्दा प्रत्यक्ष निर्वाचन मा महिला उम्मेदवार निकै कम छन् । प्रत्यक्ष उम्मेदवार बढीभन्दा बढी उठाउन पहल गर्नुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘नेपाल मा १३ नगरपालिका, १२ गाउँपालिकामा मात्रै महिला पालिका को प्रमुख पदमा छन् । अब यसलाई बढाउन उम्मेदवारी दिँदा नै ध्यान दिनु पर्छ ।’’
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु पालिका मा भएका महिला जनप्रतिनिधिलाई विभिन्न विषयगत समितिमा नेतृत्व को अवसर दिइरहेको, महिला कर्मचारीलाई पनि जिम्मेवारी दिइएको र समग्र महिलालाई नेतृत्वमा ल्याउन पालिकाले प्रयास गरिरहेको बताउनुहुन्छ । ‘‘महिला र पुरुष बराबरी भएर अघि आएमा समाज बराबरी तवरले विकास हुन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘अब महिलाहरुले पनि अधिकारमा दावी गर्नुपर्छ । पद पाउँदा देखि नै चनाखो हुनुपर्छ ।’’
कार्यक्रम टीकापर नगरपालिका आयोजना, स्थानीय सरकार सवलीकरण कार्यक्रमको प्राविधिक सहयोग तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा भएको हो ।
३ दिनसम्म पालिकामा महिला सदस्य रहेका तीन दल नागरिक उन्मुक्ति पार्टी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र अन्तिम दिन सबै दलका प्रतिनिधिसँग छलफल भएको हो । सबै दलका प्रतिनिधिले आउँदो निर्वाचनमा उम्मेदवारी दिँदा नै महिला सहभागिता बढाउने प्रतिबद्धता गरेका छन् ।