अफवाहमा बिश्वास गर्दा समस्या

सम्पादकीय
यस पटक भएको स्थानीय तहको निर्बाचनमा अफवाहका कारण कैयन स्थानमा आपसमा मारामार भएको घटना समाचारमा आएका छन् भने कतिपय स्थानमा आपसमा कानेखुसी मै सीमिति भएका छन् । स्थानीय तहको निर्बाचनमा केही घटना बाहेक अधिकांस स्थानमा शान्तिपूर्ण भएको छ । कैलालीको जोशीपुर पूर्ब मन्त्री जनकराज चौधरीलाई मत पेटिका साट्न आएको भनेर हल्ला खल्ला भयो तर आइतवार मात्र स्थानीय राजनीतिक दलका नेताहरुले गलत अफवाह भएको स्विकार गरेका छन् । उनीहरुले मन्त्री चौधरीका बारेमा भएको अफवाहलाई माफि मागेका छन् र भविष्यमा नदोह¥याउने गरी लिखित प्रतिबद्धता गरेका छन् । निर्बाचन सकिएपछि सबैले मिलेर बस्नु स्थानीयको हित भएको महशुस गरेका छन् । निर्बाचनका दिन त्यस क्षेत्रमा ठूलो तनाब थियो तर निर्बाचन सकिएपछि सबैले गलत भएको महशुस गरेका छन् । निर्बाचनमा बिजय हुनका लागि सबै लागि परेका थिए । बिजयी हुन लागि आपसमा तिक्तता बढाउनु गलत हो । समाजले तयार गरेको एउटा मन्त्रीलाई गलत लान्छना लगाउनु गलत हो । कसैलाई लान्छना लगाउँदा सुहाउँदा खालको पनि हुनुपर्छ । एउटा मन्त्री भएको व्यक्तिलाई आग्रह पूर्बाग्रह राख्नु कसैका लागि लाभ हुँदैन । जे होस् जोशीपुरमा पछिल्लो समय आपसमा समझदारी कायम गर्ने प्रयास भएको छ । यसले सकारात्मक सन्देश दिएको छ । स्थानीय निर्बाचनमा आ–आफ्नो पार्टीलाई जिताउन प्रयास गर्नु अपराध होइन । सबैले आफ्नो बिचारलाई बलियो बनाउने प्रयास गर्छ । हरेक पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पार्टी बलियो बनाउन लाग्नु सबैको कर्तव्य हो । तसर्थ समाजमा सद्भाव र शान्ति कायम गर्ने सवालमा सबै एकजुट हुन जरुरी छ । समाज बलियो बनाउन सबैले सकारात्मक प्रयास गर्न जरुरी छ । यसैमा सबैको भलो छ ।