अबैध उत्खननमा प्रयोग भएका ८ वटा ट्याक्टर पक्राउ

टीकापुर, २१ बैशाख/इलाका प्रहरी कार्यालय टीकापुरले बिहीबार अबैध उत्खननमा प्रयोग भएका ८ वटा ट्याक्टर पक्राउ गरेको छ । प्रहरीले बिहीवार साँझ करिब ६ बजे ३ वटा टीकापुर ८ श्रीलंकाबाट र ५ वटा जानकी गाउँपालिका ६ कैलाशेश्वर सामुदायिक वन नजिकबाट पक्राउ गरेको हो ।
यसरी पक्राउ गरिएका ट्याक्टर प्रहरी कार्यालय टीकापुरमा राखिएको प्रहरी प्रमुख नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी गराउनुभयो । ‘‘हामीले ८ वटा ट्याक्टर पक्राउ गरेका छौँ, पालिकालाई बुझाउछौँ, पालिकाले जे गर्छ’’, अधिकारीले भन्नुभयो ।
प्रहरीले केही दिनअघि ४ वटा ट्याक्टर र एउटा जेसिवी टीकापुर ७ सत्ती कर्णाली सामुदायिक वनबाट पक्राउ गरेर नगरपालिकालाई बुझाएको थियो । व्यक्तिको जग्गाबाट उत्खनन गरिएको मुचुल्का बनाइए पनि नगरपालिकाले १५ हजार रुपैया जरिवाना तिराएर छाडेको थियो ।


यस वर्ष नगरपालिकाले बस्ती डुवानको जोखिममा पर्ने भन्दै नदीजन्य पदार्थको ठेक्का लगाएको छैन । नगरपालिकाको २०८० चैत २९ मा बसेको ३१ औंँ कार्यपालिका बैठकले कर्णाली नदीले बर्सेनि आफ्नो धार परिवर्तन गरी नदी कटान एवम् भुक्षयका कारण टीकापुर नगरपालिकाका अधिकाँश वडाहरुमा बाढी तथा डुवान हुने हुँदा ठूलो धनजनको क्षति हुने सम्भावनालाई मध्यनजर गर्दै चाुल आर्थिक वर्ष २०८०/८१ मा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का बन्दोबस्त नगर्ने निर्णय गरेको छ ।
यसरी नदीजन्य पदार्थको उत्खनन ठेक्का नलगाउँदा सिँचाइ आयोजनाले गर्ने तटबन्धका लागि सहज नभएको स्थानीयको भनाइ छ । उता टीकापुर ८ श्रीलंकामा भने मनपरी उत्खनन भइरहेको थियो । कर्णाली नदीमा एउटा समूहले महिनौँदेखि उत्खनन गर्दा पनि नगरपालिकाले कुनै कारबाही चलाएको थिएन । यदी नगरपालिकाले सामान्य कारबाही गरेर अहिलेका ट्याक्टर छाड्ने हो भने भोलिबाट सबैले उत्खनन गर्न सुरु गर्ने स्थानीयको भनाइ छ ।