अस्तित्व स्विकार्न समस्या

सम्पादकीय
नेपाली समाजमा पछिल्लो पटक अर्काको अस्तित्व स्विकार्न गाहे मान्ने गरिएको
छ । आफ्नो पहिचान बनाउनेका नाममा राम्रो र नराम्रो भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्न उद्यत छन् । सामाजिक अगुवाका नाममा आपसमा लडेर द्वन्द बढाउने काम भएको छ । समाजमा द्वन्द बढाउने भएपछि विकास कसरी हुन्छ ? विकासका लागि समाजसेवा गर्छु भन्नेहरु आपसमा लडेर समाजमा ध्रुबिकरण बढाउने काम भइरहेको छ । यो समस्याबाट टीकापुर पनि अछुतो छैन । टीकापुरको राजनीतिमा समस्या बढ्दै गएको छ । एक अर्काको अस्तित्व स्विकार्न नसक्दा समस्या बढ्दै गएको छ । संघ संस्थामा बढ्दै गएको अराजकता र नेतृत्व लिन होडवाजीका नाममा अर्काको अस्तित्व स्विकार्न नसक्दा एक अर्कालाई सक्ने राजनीतिले आपसमा द्वन्द बढ्दै गएको छ । यहाँको हरेक पार्टीमा समस्या छ । हरेक पार्टीमा अराजकता बढ्दै जाँदा इमान्दार नेता कार्यकर्ता पछि पर्दै गएका  छन् । समाजमा स्वच्छ छबि भएकाहरुलाई अवसर नदिने प्रबृत्ति हरेक पार्टीमा पाइन्छ । जसरी पनि आफु हुने सोचले आपसमा द्वन्द बढ्दै गएको छ । अवसर पाएपछि राम्रो प्रदर्शन गर्नु भन्दा मनपरी गर्ने अनी कसैले प्रश्न गरे देख्लास पख्लास भन्ने प्रलचन छ । पार्टी कव्जा गर्नेहरुकै कारण पार्टीमा आन्तरिक द्वन्द बढ्दै गएको छ । यसरी द्वन्द बढ्दै जाँदा आम निर्बाचनमा कांग्रेस , एमाले र माओवादीमा आफ्नै बलबुताले जित्ने अवस्था छैन । यी तीनै पार्टीमा कतिपय कार्यकर्तालाई पार्टीको चिन्हसंग केही लेनादेना छैन । बिचारसंग केही लेनादेना छैन । केवल अराजकता देखाउने र निर्बाचनमा पैसा चाहियो भन्ने प्रबृत्ति हाबी भएको छ । तसर्थ सामाजिक अगुवा हुँ भन्ने हरेक व्यक्तिले आफ्नो पहिचान बनाउन समाजमा सकारात्मक भुमिका खेल्नुपर्छ । राम्रो काम गरेर जनताको मन जित्ने व्यक्तिलाई समाजले अघि बढाउन जरुरी छ । गलत र सही जनताले पनि छुट्याउनुपर्छ ।