अस्थिरताको कारक समानुपातिक

सम्पादकीय
नेपालमा २०४६ को परिवर्तन पछि मुलुक प्रजातन्त्रलाई बलियो बनाउँदै विकास निर्माणमा अघि बढ्नुपर्ने थियो । त्यतिबेला नेपालमा खासै प्रबिधि भित्रिएको अवस्था थिएन । पञ्चायतकालमा भएको विकासलाई नियाल्ने हो भने २०४६ को परिवर्तन पछि खासै विकास भएको पाइदैन । हुन त २०४६ को परिवर्तन पछि कांग्रेसको सरकारले गाउँ गाउँमा शिक्षा , स्वास्थ्य र सडकका बिषयमा उल्लेख्य काम गरेको हो । मध्यावधी निर्बाचन पछि मुलुक अस्थिरताको सिकार भयो । अस्थिरताको सिकार भइरहेका बेला भारतमा बसेर नेपालका बिरुद्ध लडेका माओवादीले नेपाली जनतालाई बाडेका सपना जनतालाई उल्लू बनाउन मात्र रहेछ भनेर प्रष्ट भएको छ । जनयुद्धमा हजारौं नागरिक मराएर शान्ति वार्ता मार्फत सत्तामा आएका माओवादीको व्यबहार हेर्ने हो भने माओवादीले देशलाई धोका दियो भन्न सकिन्छ । भारतकै आडमा आन्दोलन भएको रहेछ भन्ने प्रष्ट भएपछि त यतिखेर माओवादीको साख पुरै खस्केको छ । माओवादी ले जनयुद्ध मार्फत अराजकता मच्चाए भने प्रजातन्त्रवादीहरुको काम गर्ने शैली पनि मिलेन । नेताहरु नितान्त व्यक्तिवादी हुँदा आज मुलुक अस्थिरताको सिकार भयो भने माओवादी जनयुद्ध त्यागेर शान्तिको बाटो आउँदा निर्माण भएको संबिधानमा समानुपातिकको व्यबस्था भयो । यहि व्यबस्था अस्थिरताको कारक भएको अहिले नागरिकले महशुस गर्न थालेका छन् । कुनै दलले पनि चाहेर एकलौटी सरकार बनाउँ सक्दैनन् । मिलिजुली सरकार चलाउने क्षमता नेताहरुसंग छैन । मिलिजुली साशन गर्ने भनेको मिलिजुली खाने भन्ने बुझेका रहेछन् । मिलिजुलीका नाममा मिलिजुली खाने व्यबस्थामा परिणत गराउँने काम भयो । यसरी सबै दल मिलेर देश लुट्ने काम भइरहेको छ ।एकातिर प्रदेशमा व्यापक भ्रष्टाचार अर्काे तर्फ सरकार बनाउँदा मिलिजुली बनाउने र मिलेर खाने पद्धतीको विकास हुँदै छ । तसर्थ जनता सचेत हुन जरुरी छ ।