आख्यानकार गगनसिंह थापाको ‘मेरा गाउंको खड्क्या मन्त्री’ उपन्यास लोकार्पण

टीकापुर, १६ पौष/आख्यानकार गगनसिँह थापाकृत ‘मेरा गाउको खड्क्या मन्त्री’ उपन्यास लोकार्पण गरिएको छ । टीकापुरमा सोमवार एक कार्यक्रम आयोजना गरी उपन्यासको लोकार्पण गरिएको हो । साहित्यकार थापाको यो ९ औं कृति हो ।
गगन फाउन्डेसनका संस्थापक हिक्मत थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासका मुख्य पात्र खड्ग बहादुर नेपाली र धौरी नेपाली प्रमुख अतिथि रहनुभएको थियो । संस्थापक थापाले उपन्यास बिक्रीबाट संकलन हुने एक लाख बढी रकम उपन्यासका मुख्य पात्र खड्ग बहादुरलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले खड्गबहादुर जस्ता विपन्न पात्रको जीवन हिजो पनि कठिन रहेको र आज गणतन्त्रमा पनि कठिन रहेकाले पुस्तकको कमाइको केही अँश नेपाली परिवारलाई दिने बताउनुभयो । थापाले तल्लो बर्गमा प्रजातन्त्र र गणतन्त्रले सपना दिएन भन्दै खड्गबहादुर जस्ता धेरैका ेअवस्था पञ्चायतकालको जस्तै छ भन्नुभयो । ‘‘विपन्नले प्रजातन्त्रको अनुभुति गर्न पाएनन, खड्ग बहादुर जस्ता नेपालीको उन्नतिका लागि सम्भव नभएकोले यस्ता नागरिक प्रजातन्त्र र लोकतन्त्रमा पनि दमन भइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘पिताजीको प्रकाशित कृतिमा यो सबैभन्दा उत्कृष्ट मलाइ पनि लागेको छ । पुस्तक लेखनमा पिताजीलाई हौसला दिने खड्गबहादुरको दम्पत्तीलाई धन्यवाद । साथै पुस्तक प्रकाशन मा सघाउने सबैलाई धन्यवाद ।’’
उहाँले हिजो पनि मागेर गुजारा चलिरहेको यो दम्पत्ति अहिले पनि मागेर चलिरहेको बताउनुभयो ।
उपन्यासको समिक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले निम्न वर्गको मानिस लाई पात्र बनाएका धेरै पुस्तक भए पनि प्रमुख अतिथि बनाएर उनैबाट बिमोचन गरिएको यो कार्य नयाँ भएको बताउनुभयो । ‘‘स्वर्गिय पिताका कृति हरेक वर्ष प्रकाशनमा ल्याउनु हिक्मत थापाको पुण्यको काम हो । यो सामाजिक कृती हो’’, उहाँले भन्नुभयो, उपन्यासमा १९५ पृष्ठ रहेका छन् ।’’
पुस्तकमा १४ अध्याय छन्,हरेक अध्यायमा प्रसङ्ग विभाजन गरिएको छ । उपन्यासमा नेपाली दम्पतीको जीवन ब्यथा र कथा समेटिएको छ । थापका छिमेकी कालू प्रसाद काफ्ले ले किताब लेखनको प्रसङ्गबारे बताउदै स्वर्गीय थापाले लेखेका कुराहरु निरङ्कुश शासनको भण्डाफोर गर्न लेखिएका भेटेको बताउनुभयो ।
देवकोटा साहित्य कला प्रतिष्ठान का अध्यक्ष बलबहादुर रावल ले फाउन्डेसनले खैरीफाटामा पुस्तकालय निर्माण गरिदिएको बताउदै पुस्तक प्रकाशन जस्ता असल कार्य गरिरहेको बताउनु भयो ।


पुस्तकको अग्रिम बिक्रीबाट प्राप्त १० हजार रकम नेपाली दम्पत्तीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा साहित्यकार पूर्ण रावलले नेपाली दम्पत्तिलाई २ हजार ५०० हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रम सञ्चालन पत्रकार परमानन्द पाण्डेले गर्नुभएको थियो भने स्वागत टीकापुर साहित्य समाजका सचिव बाबु देवकोटाले गर्नुभएको थियो ।
साहित्कार थापाले सृजना गरेर राखेका कृतिहरु उहाँको निधन पछि पनि फाउन्डेसन मार्फत छोरा हिक्मतले क्रमशः प्रकाशित गर्दै आउनुभएको छ । एनआरएनएका पूर्ब कोषाध्यक्ष समेत रहनुभएका हिक्मत थापाले सामाजिक काम गर्दै आउनुभएको छ ।
स्वार्गिय थापाका सोह्र सौगात (कथासङ्ग्रह) ,कर्णालीको छेउछाउ, मेरो मधुशाला , अस्ताचलको ढोकाबाट, महाप्रलय र पूर्खाको चिठ्ठी, (उपन्यास ) प्रकाशित भएका छन् भने उज्जली र मरुभूमिकी महारानी (लघु उपन्यास) पनि प्रकाशित भइसकेका छन् । साहित्यकार थापाको २०७७ साल कार्तिक १९ गते काठमाण्डौमा निधन भएको हो ।