आधारभुत कुरामा ध्यान देउ

सम्पादकीय
गणतन्त्रमा नागरिकका बारेमा नेताहरुले ठूला ठूला कुरा गरे । गणतन्त्र आएपछि सबै समस्या हल हुन्छ भनियो । गणतन्त्र बिना देशको अवस्था सुधार हुँदैन भनियो । त्यति मात्र होइन बिश्वका धनी देशको श्रेणीमा देशलाई पुगाउँछौ भनेर जनतासंग बाचा गरियो । देश र जनताका सवालमा ठूला आश्वासन बाड्ने काम भयो । प्रजातन्त्रका लागि लडेका नेतहारुले भनेपछि जनताले पत्याउनु स्वभाविकै हो । आज हरेक पार्टीमा देखिएको गुटबन्दी र सत्तामा गएपछि नेताहरुले देखाएको हर्कतका कारण गणतन्त्र नेताहरुका लागि रहेछ भनेर सहजै भन्न सकिन्छ । नागरिकका कुरा भाषणमै सीमित पारिएको अवस्था छ । जनता रोग , सोक र भोकले मर्नुपर्ने बाध्यता छ । उपचार नपाएर महिनौं कुर्नुपर्छ भने सुत्केरीले उपचार नपाएर मरेको समाचार अहिले पनि सुन्न पाइन्छ । संबिधानमा शिक्षा, स्वास्थ्य नैसर्गिक अधिकार भनेर लेखिएको छ तर जनताले पाउन सकेका छैनन् । एकातिर जनताले सहज उपचार नपाउने अर्काे तर्फ नेताहरु बिदेश गएर उपचार गर्छन् । आफ्नो देशको अस्पताल व्यबस्थित र भरपर्दाे बनाउन भूमिका खेल्नुको साटो अर्बाै रुपैया स्वास्थ्य सामाग्री खरिद गर्दा आर्थिक अनियमित भएको कुरा जनताले सुन्नु पर्छ । सत्तामा बस्नेहरुको यस्तो रबैयाले आम नागरिक दुखि छन् । गणतन्त्र आएपछि नागरिकको जनजीविकाको सवालमा बहस भएको पाइदैन । नागरिक रोजगारका लागि बिदेश जान बाध्य छन् । कोरिया पढ्न जान पाएनौं भनेर बिद्यार्थी आन्दोलनमा छन् । १२ पास गरेर कोरिया जान नदिने नीति अनुसार एनओसी नदिएपछि बिद्यार्थी आन्दोलनमा उत्रिय । उनीहरुले पढ्ने अधिकार सुरक्षित हुनुप¥यो भन्दै सरकारसंग माग गरेका छन् । १२ कक्षा पास गरेको कलिलो युवा आफ्नो देशमा पढ्न मान्दैन । यो अवस्था अहिलेको राजनीतिले सृजना गरेको हो । यसले आम युवाहरुमा अबिश्वास बढायो भने देशको अवस्था नाजुक छ भन्ने सन्देश दिएका छन् । नेपालमा महगिंको मार एकातिर छ भने अर्काे तर्फ नागरिकको आम्दानीमा भारी कटौती भएको छ । नागरिकले जीवन निर्बाहा गर्न गाहे छ । दैनिकी कष्टकर छ तर सत्तामा बसेका नेताहरुलाई केही वास्ता छैन । तसर्थ जनता सचेत हुन जरुरी छ । जनताले राम्रो कामका लागि दबाब सृजना गर्न जरुरी छ ।