‘इन्दिरा–चन्द्र’ छात्रबृत्ति वितरण

टीकापुर,१५ साउन/गतबर्ष देखि शुरु भएको इन्दिरा९चन्द्र छात्रबृत्ति यस बर्ष आइतवार वितरण गरिएको छ ।
छात्रबृत्ति वितरण समितिका अध्यक्ष चन्द्रसिंह भट्टराईले बिद्यालयमा छात्रबृत्ति वितरण गर्नुभएको हो ।
टीकापुर २ स्थित जनजागृती माविमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी अभिशेष कठरिया र रेणुका तिखातरी र कक्षा १० का बिद्यार्थी पुषा ठकुल्ला र करिना रावललाई छात्रबृत्ति स्वरुप बिद्यालय सामाग्री प्रदान गरिएको हो ।
अर्का एकजना कक्षा ११ र १२ का जेहन्दार र अनुशासित एकजना बिद्यार्थी मध्यबाट छानिने भएका कारण पछि वितरण गरिने जनाइएको छ । यसरी यस बर्ष ५ जना बिद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् ।


‘‘छात्रबृत्ति पारदर्शी रुपमा वितरण गरेका छौ, यसरी बिद्यार्थी लाई दिंदा प्रोत्साहन हुनुको साथै समाजमा सकारात्म सन्देश जान्छ ।’’ छात्रबृत्ति छनौट समितिका सचिब जयबहादुर बिष्टले भन्नुभयो । छात्रबृत्ति स्वरुप ५ हजार रुपैया बराबरको बिद्यालय सामाग्री दिइने गरिएको छ । अघिल्लो बर्ष तीन जनालाई छात्रबृत्ति दिने गरिएकोमा यस बर्ष देखि एकजना जनजाती र एकजना दलित समुदायबाट पनि थप गरिएको छ ।
पूर्ब उर्जाराज्यमन्त्री चन्द्रसिंह भट्टराई र उहाँकी धर्मपत्नी इन्दिरा भट्टराईको नाममा छात्रबृत्ति प्रदान गरिने गरिएको छ । यो छात्रबृत्ति भट्टराई दम्पतीका छोरा अमेरिका बस्ने प्रबिण भट्टराईले उपलव्ध गराउँदै आउनु भएको छ । ‘‘सामाजिक कार्यकर्ता हौ , केही गरौं भनेर छात्रबृत्ति वितरण गर्ने योजना बनाएका हौं ’’ पूर्ब उर्जाराज्य मन्त्री भट्टराईले भन्नुभयो,‘‘पढाई र अनुसाशनमा राम्रो बिद्यार्थीलाई उत्प्रेरणा होला भन्ने हाम्रो सोच हो ।’’
उहाँले समाजमा जे जति सकिन्छ राम्रो काम गर्नुपर्छ भन्ने सन्देश पनि हो भन्नुभयो । छात्रबृत्ति छनौट समितिका अध्यक्षमा चन्द्रसिंह भट्टराई हुनुहुन्छ भने सदस्यहरुमा भुवनेश्वर अधिकारी , बिद्यालय का प्रअ मुक्तिप्रशाद भण्डारी र समाजसेवी जगन्नाथ रिमाल सदस्य हुनुहुन्छ ।