उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

टीकापुर, ७ पुस/कैलाली स्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु. १० हजार पुरस्कार दिइएको छ । महिनाभरी पुस्तकालयमा आइ अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणा अनुसार मङ्सिर महिनाको पाठककारुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार दिएको हो । चौधरीलाई रु. १० हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो । टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिनुभयो । ‘‘हामी पठन संस्कृतिको विकास गर्न खोजेका हौँ’’, उहाँले भन्नुभयो, ‘‘पुस्तकालयमा सबैभन्दा बढी दिन आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका हौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यसो गर्न थालिएको हो ।’’


पुस्तकालयमा आयोजित एक बिशेष कार्यक्रममा पुरस्कृत चौधरीलाई टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विक र वरिष्ठ शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गर्नुभयो । पुरस्कार वितरण गर्दै वडाध्यक्ष विकले अध्ययनले नागरिकलाई ज्ञान मिल्ने र ज्ञानले आत्मविश्वास बढाउने र मानिसको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । ‘‘अध्ययनले मानिसलाई कहिल्यै घाटा हुँदैन, उसको क्षमता विकासका सहयोग पुग्छ’’, उहाँले भन्नुभयो, ‘‘सरोकार समूह र पुस्तकालयले थालेको कार्य सहनीय    छ ।’’
कार्यक्रममा टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र टीकापुर सरोकार समूहका सचिव भट्टराईले पुरस्कारको औचित्यबारे धारणा प्रस्तुत गर्नुभएको थियो ।
सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्ष सम्म प्रत्यक महिना यो पुरस्कार प्रदान गरिनेछ । मंसिर २०७९ को पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको थियो ।
पुस्तकालयकै आयोजनामा वक्तृत्वकला प्रतियोगिता
टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको छ । वक्तृत्वकलामा राजनीतिमा युवाको भूमिका, मोबाइल प्रयोगकर्ताका सवल र दुर्लभ पक्ष, सन्ततीलाई आध्यात्मीक बनाउन अभिभावकको भूमिका विषयमा विद्यार्थीहरुले आफ्ना धारणा राखेका थिए ।
पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विरेन्द्र विदा मन्दिरका लक्ष्मी रेग्मी प्रथम हुनुभएको छ । कार्यक्रममा सन्त निरंकारी माविका अर्जुन पोखरेल द्धितीय र एमबीए माविका कोपिला परियार तृतीय हुनुभएको छ ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष मोहन विक प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा शिक्षाप्रेमी यज्ञमुर्ती अर्याल, धनन्जय तिमिल्सिना, समाजसेवी उदयराम अधिकारी पुर्ण प्रसाद रेग्मी, नवराज भट्टराई लगायतको उपस्थिति थियो । प्रतियोगितामा ९ विद्यालय सहभागी थिए ।