सम्पादकीय
टीकापुर उद्योग बाणिज्य संघले आफ्ना सदस्यका लागि के काम गर्छ भनेर सोच्ने हो भने महोत्सव गर्छ भनेर सबैले सहज रुपमा भन्न सक्छन् । महोत्सव मार्फत विकासका एजेण्डा अघि बढाउने संस्कार २०६५ सालको शुरु महोत्सवबाट भएको हो । विकासका सवालमा महोत्सवले योगदान पु¥याएको छ । त्यस बाहेक संघमा आबद्ध भए वापत ३ बर्षमा एक पटक संघको नेतृत्व छान्ने अवसर दिन्छ । व्यबसायीले बर्षेनी नविकरण गरे वापत पाउने भनेको महोत्सवको उद्घाटन र समापनमा निशुल्क प्रबेश हो । यस्तो गरिमा बोकेको संस्थाले आफ्ना सदस्य मरेपछि मतलव गर्ने गरेको छैन । कोही भलाद्मीको निधन भएपछि बाहेक आम व्यबसायीको निधन भएपछि संघले एक पटक पनि सम्झने गर्दैन । आफ्नो सदस्यको निधन भएपछि सामान्यता हरेक संघ संस्थाले शोक सभा गरेर श्रद्धाञ्जली दिन्छन् तर टीकापुर उद्योग बाणिज्य संघले त्यो पनि गर्दैन । आफ्नो सदस्यको निधन भएपछि कुनै एक दिन शोकसभा गरेको भए राम्रो सन्देश जाने थियो । बर्षाै देखि व्यापार व्यबसाय गरिरहेको संघको सदस्य निधन भएपछि परिवारजनलाई सम्झेर श्रद्धाञ्जली कार्यक्रम गर्ने संस्कार बसालेको भए राम्रै सन्देश जाने थियो । आफ्नो सदस्यको निधन भएको चाल नपाउने संस्थामा सदस्य के का लागी ? उद्योग बाणिज्य संघ त्यसै पनि व्यबसायीको संगठन हो । यसले सामाजिक काम गर्नुपर्ने हो । महोत्सवको आम्दानीले कर्मचारीलाई बर्षभरी पारिश्रमिक खुवाउन ठिक्क हुन्छ । तसर्थ उद्योग बाणिज्य संघले आफ्ना सदस्यहरुको निधनमा शोकसभा गर्ने संस्कार बसाउन जरुरी छ । सबैले नेतृत्व लिन सदस्य भएका होइनन् । संस्थामा आबद्ध हुनु भनेको संगठित भएर केही गरौं र मृत्युपछि एकदिन त सम्झलान् भन्ने पनि हो । मरेपछि एकदिन पनि नसम्झने संस्थामा सदस्यता नविकरण किन गर्ने ? बार्षिक साधारणसभामा घर घर रजिस्टर पठाएर उपस्थिती गराउने चलन थियो । अहिले कोरम पुगेन भन्दै स्थगित गर्ने अनी २५ जना भएपनि साधारणसभा हुने दिन साधारणसभा सक्ने चलन छ । सम्मान नपाउने संस्थामा आकर्षण किन हुने ? यसमा सबै पदाधिकारी र आम व्यबसायीले समयमै ध्यान दिन जरुरी छ ।