टीकापुर, १५ साउन/उपभोक्ता हित सरक्षण मञ्च नेपाल टीकापुर नगर समितिले टीकापुर नगरपालिका नगर कार्यपालिका को ध्यानाकर्षण गराएको छ । मञ्चले टीकापुर बजारमा भैरहेका उपभोक्ताको स्वास्थ्यमा गम्भिर प्रतिकूल असर पर्ने र कानुन विपरितका गतिविधिलाई नियमन गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुर नगर समितिका अध्यक्ष एकिन्द्र तिमिल्सेनाले टीकापुरका बजारमा टिकीया, समोसा, चाट, चाउमिन, पानीपुरी जस्ता खानेकुरा असुरक्षित रुपमा नालीमाथि राखेर बेच्ने गरेको र स्वच्छताको कुनै ख्याल नगरिएको, सडक किनारमा राखेर बिक्री गरिने फलफूल घामपानीका कारण गुणस्तर कायम नहुने साथै अधिक मूल्य राखेर बिक्री गर्ने गरेकाले यस्ता सडक व्यवसाय लाई व्यवस्थित रुपमा चल्ने व्यवस्था गर्न नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नगर पालिका लाई ध्यानाकर्षण गराएको छ ।
ज्ञापन पत्रमा टीकापुर नगरपालिकाभित्र सञ्चालनमा रहेका होटल व्यवसायहरुमा मदिराको विज्ञापन गरिएका होर्डिङ बोर्डहरु लगाएका पाइएकाले मदिराको विज्ञापन हुने गरी बोर्ड राख्नु नेपालको जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ को उपदफा १ र टीकापुर नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ ऐन २०७६ को दफा १७ मा भएको व्यवस्था र सर्वोच्च अदालतको २०७९ फागुन १५ गतेको आदेश विपरित भएकाले टीकापुर नगरपालिका भित्र मदिराको बिक्री प्रवर्दनका लागि राखिएका बोर्डहरु हटाउने व्यवस्था गर्न माग गरिएको छ ।
टीकापुर नगरपालिकाभित्र होर्डिङ बोर्ड, ब्यानर, फ्लेक्स र माइकिङ गरेर विज्ञापन र प्रचारप्रसार भैरहेको तर पालिकाको आ। व। २०८०÷८१ को विज्ञापन शुल्कको आय न्यून देखिएकाले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ४ मा नगरपालिकाको अनुमति लिएर मात्रै व्यापारिक प्रचारप्रसार गर्न पाउने, शहरमा फोहर गर्न नपाउने, निश्चित अवधिपछि बोर्ड र ब्यानर हटाउनु पर्ने व्यवस्था भएकोमा त्यसो नभएकाले यसको नियमन गरी चर्को स्वरमा माइकबाट हुने प्रचारप्रसार, ब्यानर, फ्लेक्सको प्रयोगमा रोक लगाई ध्वनी र वातावरणीय प्रदूषण रोक्न र होडिङ बोर्डहरु नगरपालिकाको अनुमति लिएर शुल्क लिएर मात्रै राख्न पाउने कानुनी व्यवस्था कार्यान्वयन गराउन माग गरिएको छ । टीकापुर नगरपालिकामा उपभोक्ताहरु मर्कामा परेमा गुनासो गर्ने व्यवस्था गर्न आवश्यक गुनासो सुनुवाइ सम्वन्धी कार्यविधि आवश्यक छ भनी उपभोक्ता हित सरक्षण मञ्चका तर्फबाट अनुरोध गरिएकोमा आर्थिक वर्ष पूरा हुँदासम्म पनि कार्यविधि नल्याएकोमा दुःख व्यक्त गर्दै तत्काल पारित गरी उपभोक्ता मर्कामा परेमा सुनुवाइ हुने व्यवस्था मिलाउन पुनः अनुरोध गरिएको छ ।
मञ्चले घातक असर परिसके पछि सहयोग गर्नुभन्दा गम्भीर रोग लाग्नबाट बचाउन, ठगिनबाट बचाउन र नागरिकलाई स्वस्थ बनाइ नगर विकास गर्न अनुरोध गरेको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख रामलाल डगौरा थारुले बुँदागत रुपमा पेश भएका माग जायज भएकाले यी माग सम्बोधन गर्ने र सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।