सम्पादकीय
बर्षाै देखि करको दुरुपयोग हुँदै जाँदा विकास भएन । करिब २७ खर्ब ऋण पुगिसक्यो तर जति विकास हुनुपर्ने हो त्यति भएन । भएका विकास पनि व्यापक दुरुपयोग भएकाछन् । यसमा आधा आन्तिरक र आधा बाह्य ऋण हो । ऋण थपिएको छ तर ऋण सही सदुपयोग भएन भन्ने गुनासो छ । नागरिकको चर्काे असन्तुष्टि बढ्दै थियो तर राज्य सत्ता चलाउनेहरु गल्ती एक अर्कालाई देखाइरहे । गणतन्त्रबादी एक भएर मुलुकको आर्थिक प्रगतिमा लागेको भए यस्तो अवस्था आउने थिएन । आज जेनजीले प्रश्न गरिरहेका छन् । प्रजातन्त्र प्राप्तीका लागि लडेका नेताहरुको हुर्मत लिदा कसैलाई राम्रो लागेको छैन तर पछिल्लो समय नेताहरुले गरेको व्यबहारलाई बिश्लेषण गर्ने हो निरास हुनुपर्ने अवस्था छ । राजनीति गर्नु भनेको राज्यको साधन स्रोत दोहन गर्न हो भनेर आम नागरिकले बुझेका छन् । यस्तो बुझाईलाई रोक्न राजनीतिक दलले जनताको भावना अनुसार काम गर्नुपर्ने भएपनि नेताहरु आफ्नो स्वार्थमा लागि रहे । जनताको भावना अनुसार काम नगर्ने केवल सत्ता स्वार्थमा लागेकै कारण मुलुकमा दिनप्रतिदिन समस्या थपिदै गएको थियो अन्तः जेनजीको आन्दोलनमा पुगेर छरपस्ट भयो । समस्या समाधान गर्नुभन्दा आलटाल गरेर समय बिताउने प्रबृत्तिले देशमा अराजकता बढ्दै गएको हो । जनताका लागि काम गर्छाै भनेर सडक तताएपनि सत्तामा गएपछि साधन स्रोत हात पार्ने योजना बनाएको पाइन्छ । विकास बजेट खर्च गर्न नसक्ने नेताहरुले फजूल खर्च भने मनग्य गर्दै आए । मामाको धन फूपुको श्राद्धझै राज्यको ढुकटीमा होली खेल्ने गरेका थिए । हरेक सरकारमा बस्ने मन्त्रीहरुले नागरिकले गास काटेर तिरेको कर दुरुपयोग गर्ने गरेका छन् । देखावटी विकासमा बजेट सक्ने गरिएको छ । बजेट खर्च भएपछि त्यसबाट हुने फाइदाका बारेमा पनि समिक्षा हुनुपर्ने हो तर नेताहरुले लगानीको प्रतिफल बारे कहिलै समिक्षा गर्देनन् । विकासका सवलामा समिक्षा नगर्ने र भएभरको बजेट शक्तिमा भएका नेताहरुले बजेट लैजाने गरेका छन् । यस्तो खालको विकास नीतिले देशको आर्थिक अवस्था सुधार हुने कुरै भएन ।