कांग्रेसले समिक्षा गर्न जरुरी छ

सम्पादकीय
नेपाली कांग्रेसका नेन्द्रीय नेता हुन् या जिल्ला र स्थानीय तहका नेता हुन् हरेकले एक अर्कालाई उपदेश दिने गरेका छन् । बीपीको नाम भजाएर अब कांग्रेस बलियो हुन सक्दैन बरु अहिले नेतृत्वमा भएका केन्द्र देखि स्थानीय तहका नेताहरुले आचरण बदल्ने हो भने जनताले पत्याउने अवस्था छ । नेपाली कांग्रेसमा भ्रष्ट र माफिया हाबी भएको अवस्था छ । केन्द्रीय नेतृत्वलाई मात्र दोष दिएर हुँदैन । पार्टीको यो अवस्था हुनु नेतृत्वले त्यसै पनि जिम्मेवारी लिनुपर्छ तर अरुलाई सुध्रन आग्रह गर्नेहरु सुध्रने कि नसुध्रने ? पार्टी भित्र बिभिन्न समूह छन् । हरेक समूहमा राम्रा र नराम्रा मान्छे छन् । गुटको आधारमा भन्दा पनि को व्यक्ति कस्तो छ भनेर कार्यकर्ताले न्याय गर्न जरुरी छ । अधिवेशनका बेला कार्यकर्ताहरु स्वार्थमा लाग्ने त्यति मात्र होइन दारु मासुमा बिक्ने गरेका छन् । यसरी बिक्नेहरुले निस्पक्ष भएर नेतृत्व चयन गर्ने कुरै भएन । कसले खुवाउँछ र परेको बेला पैसा कसले दिन्छ भनेर मुल्याकंन गर्ने राजनीतिमा इमान्दार नेता र कार्यकर्ताले अवसर पाउने कुरै भएन । पार्टीका कतिपय स्थानीय नेता तथा कार्यकर्ता भ्रष्ट छन् । पार्टीकै आडमा सामाजिक संघ संस्थामा जाने र मनपरी गर्दा जनताबाट बहिस्कार हुन थालेका छन् । जनताले बहिस्कार गरेको व्यक्तिका बारेमा केन्द्रले थाहा नपाएपछि त्यस्तै व्यक्तिले टिकट पाउने गरेका छन् । जनताले पत्याउन अव छबि बचाएको हुनुपर्छ । कतिपय नेता हुँ भन्नेहरु बजेट दुरुपयोगमा लागेका हुन्छन् । बजेट दुरुपयोग गर्नेहरुलाई समाजले कसरी पचाउँछन् ? बजेट दुरुपयोग गर्नेहरुको खुलेर बिरोध नगर्दा बजेट खान पल्ेककाहरु आफुहरु ठिक छौ भन्ने स्वाँङ पार्ने गरेका छन् । तसर्थ नेपाली कांग्रेसका स्थानीय देखि केन्द्रसम्मका नेता कार्यकर्ताहरुले भ्रष्ट र समाज बिरोधीलाई पार्टीबाट बहिस्कार गर्न जरुरी छ । जनताले पचाउन नसक्ने नेतृत्वले अवसर पाउने हो भने न त पार्टी मिलाउन सक्छ न त समाज नै मिलाउन सक्छ । यसमा सबैले ध्यान दिन जरुरी छ । त्याग , छबि र क्षमताका आधारमा अवसर वाड्ने प्रचलन नबसाल्दासम्म पार्टीमा सुधार हुँदैन । अरुलाई उपदेश दिएर मात्र पार्टीमा परिवर्तन देख्न पाइदैन ।