सम्पादकीय
जेनजीको आन्दोलनपछि नयाँ सरकार बनेको छ । नयाँ सरकारले सुशाषनको पाटोमा केही सकारात्मक काम गर्न थालेको छ । सरकार मितव्ययी भएर राज्यको ढुकुटी रक्षा गर्न लागेको आम नागरिकले महशुस गर्न थालेका छन् । राजनीतिक दलले राज्यको ढुकुटी चरम दुरुपयोग गरेको महशुस भएका बेला जेनजीको आन्दोनले स्थापित नयाँ सरकारप्रति आम नागरिकको सकारात्मक प्रभाव पर्न थालेको छ । कार्कीको सरकार बन्नुपर्र्ने थियो या कसरी भयो भन्ने बारेमा व्याख्या गर्दा धेरै कुरा आउन सक्छन् तर राजनीतिक दलका नेताहरुले सुझबुझ नदेखाएपछि दुर्घटना भएको कुरा स्विकार सबैले गर्नुपर्छ । सुधारका कुरा देख्न पाइएन । गणतन्त्रपछि खासगरी कांग्रेस, एमाले ,माओवादी र मधेशवादी दलले ठूलो गल्ती गर्दै गए । यी चारवटै शक्ति मिल्ने र चिल्ने त गरे तर राष्टू निर्माणका लागि कहिलै मिलेको देख्न पाइएन । आफ्नो पार्टी कसरी सत्तामा जान्छ भनेर मात्र सोच्ने काम भयो । मधेशवादी र माओवादीबाट जनताले धेरै आशा गरेका थिएनन् । नेपाली जनताले कांग्रेस र एमालेसंग धेरै आशा गरेका थिए । जुन पार्टीबाट जनताले आशा गरेका थिए उनीहरुकै शैली जनविरोधी भएपछि जनता दिनप्रतिदिन निरास मात्र भएका थिएनन् बरु आक्रोशित हुँदै गएका थिए । सत्ताको आडमा आफ्नालाई पोस्दै जाँदा मुलुकको ऋण बढ्दै गयो तर विकास त्यो अनुपातमा भएन । जेनजीको आन्दोलनले मुलुक अस्तव्यस्त भएको छ । यो अस्तव्यस्त मुलुकलाई गतिमा ल्याउन कांग्रेस र एमालेले अवसरको रुपमा काम गर्न जरुरी छ । विगतको कमजोरी सच्याएर कांग्रेस र एमालेका नेताहरुले पार्टीमा सुद्धिकरण देखि सत्तामा गएपछि दिने सेवाका बारेमा पनि आमुल परिवर्तन गर्न जरुरी छ । कांग्रेस र एमालेलाई अहिले देशलाई सही गतिमा ल्याउने अवसर जुरेको छ । निर्बाचन हुने हो भने कांग्रेस र एमाले ने सत्तामा आउने निश्चित हो । फाट्टफुट्ट कुनै दलले केही संख्या बढाएपनि अहिलै व्यबस्था अनुसार निर्बाचन हुने हो भने कांग्रेस र एमाले नै शक्तिमा आउने हुन् । सत्तामा आएर पुरानै हर्कत गर्ने हो भने अब जनताले माफ गर्नेवाला छैनन् । यसपटक ध्वंस त भयो तर नेताहरुले टाउको जोगाउने मौका पाएका छन् । जेनजीको आन्दोलनलाई पूर्बाग्रह भन्दा सिकाइको रुपमा लिएर सच्चिएर देशको सेवा गर्न जरुरी छ । बलियो सरकार भएपछि प्रतिसोध साध्ने काम होइन अल्पमतको पनि भावन बुझेर काम गर्नुपर्छ । निर्बाचन प्रणालीका कारण प्रष्ट बहुमत कसैको आउने अवस्था छैन । सरकारमा गएकै दिनदेखि कतिदिन हो कुर्सीमा बस्न पाइने हो भने चिन्ता नगरेर विगतका कमिकमजोरी सच्याएर काम गर्न जरुरी छ । कांग्रेस र एमालेले भ्रष्टाचार बिरोधी अभियान चलाउन जरुरी छ । विगतमा सत्तामा बसेका सबै नेता भ्रष्ट थिएनन् । निस्कलकिंत नेताहरुलाई अघि लगाएर देशमा सुशाषन कायम गर्ने योजना बनाउनुपर्छ । कांग्रेस र एमालेले अब भ्रष्टहरुलाई काखी च्याप्ने काम गर्नु हुँदैन । गणतन्त्रमा भ्रष्टहरु अग्रमोर्चामा देखिदा सज्जनहरु चुपचाप बस्न बाध्य भएका हुन् ।