कानून केही होइन भन्ने सोच

सम्पादकीय
नेपालमा कानून केही होइन, समस्या आए नेताहरुले समाधान गरिहाल्छन् भन्ने सोचको विकास हुँदा समाज तहस नहस हुँदै गएको छ । माथि नेताहरुलाई देखाएर तल्लो तहको कार्यकर्ता समाज लुट्नमा व्यस्त छ । पार्टीको कार्यकर्ता इमान्दार हुनु भनेको माथिल्लो तहले भनेपछि हस भन्ने र आफ्नो अधिकार क्षेत्रमा मनपरी गर्नु हो । माथिल्लो तहका नेताहरुले आफ्नो झोला बोक्ने कार्यकर्ता घट्ने डरले गलत व्यक्तिलाई अगाँलो हाल्नुपर्ने बाध्यता छ । पार्टीका आडमा जे गरेपनि हुन्छ भन्ने मानसिकता नेपाली समाजमा पनि व्याप्त छ । यो प्रबृत्तिलाई जतिसक्यो छिटो रोक्न जरुरी छ । यो प्रबृत्ति रोक्न जति ढिला भयो उति गणतन्त्र बद्नाम हुन्छ । पछिल्लो समय टीकापुर नगरविकास समितिको जग्गा विवादका बारेमा यस क्षेत्रका जनता दुखी छन् । जग्गा दिने र लिने बिषय त हो नै तर यही बिषयले समाजमा बढ्दै गएको द्वन्दले सबैलाई झस्काउन थालेको छ । कानून जहिले पनि लाग्न सक्छ भन्ने सन्देश यो घटनाले दिएको छ । यो जग्गाको बिषयमा मात्र सीमित रहेन यतिखेर आम मान्छेले हरेक संस्थामा देखिएको अराजकतालाई चोक चौराहामा ओकेल्न थालेका छन् । कतिपय मनगढन्ते कुरा हुने गरेका छन् । यो पनि फस्छ उ पनि फस्छ भन्दै धारे हात लगाउने गरिएको छ । गलत भएको छ भने एकदिन कानून आकर्षित हुने निश्चित हो । संस्थामा गएपछि पारदर्शिताका कुरा गर्दा रिसाउनेहरु सामाजिक अगुवा हौं भनेर गर्ब गर्छन् । यस्ता नैतिकहिनहरुकै कारण सिंगो टीकापुर द्वन्दमा फसेको हो । तसर्थ टीकापुरबासी कठोर हुन जरुरी छ । भ्रष्टहरु कुनै पार्टी या कसैका नातेदार हुँदैनन् । भ्रष्टहरुलाई सामाजिक बहिस्कार गर्न जरुरी छ ।