सम्पादकीय
नेपाली समाजमा पछिल्लो समय काम गरेर होइन राज्यको पैसा ठगेर खानेहरुको हालिमुहाली हुन थालेको छ । सामाजिक अगुवा या पार्टीको कार्यकर्ताको नाममा राज्यको पैसा लुट्नेहरुको मनोबल बढ्दै गएको छ । पार्टीको आडमा भइरहेको यो अराजकताले समाज द्वन्दमा फसेको छ । समाजिक अगुवाले संघ संस्था मार्फ होस् या विकास निर्माणका नाममा होस् मनपरी गर्ने गरेका छन् । यो मनपरीलाई साच्चिकै राज्यले खोतल्यो भने हजारौ सामाजिक अगुवा जेलमा हुने निश्चित हो । राज्य लुट्नेको संख्या हजारौंमा पुगेपछि देशको अवस्था कस्तो होला ? राज्य लुट्न पल्केकाहरु मिलेर बसेका छन् । खान नपाए एकछिन झगडा गरेको जस्तो गर्छन् अन्तिमा नमिले खान पाइदैन भन्ने सोच्छन् । हरेक पार्टीका केही व्यक्ति मिलेर लुट्छन् । यो देशभरको अवस्था हो । देशभर जग्गाको विवाद छ । जग्गा नापजाँच गर्न दिन्नौं भनेर प्रहरी र नापीलाई काम गर्न नदिने तागत कहाँबाट आयो ? भिड जमा गर्ने अनी राज्यका निकायलाई काम गर्न नदिनेहरुलाई सरकारी निकायले नै केही गर्न नसक्ने अवस्था छ । यस्तो मनोबल भएका पार्टीका कार्यकर्ताले राज्यलाई लुट्न के मान्थे ? हरेक क्षेत्रमा अराजकता छ । न्याय पाउने अवस्था छैन । मुद्धा मामिलामा पनि भनेजस्तो बिश्वास छैन । न्याय नेताहरुको खल्तीमा छ । अदालतलाई पारदर्शी र निस्पक्ष रुपमा काम गर्न दिइएको छैन । काम गरेर खान्छु भन्नेहरुको मनोबल बढाएर राज्यले नीति बनाएको भए समस्या हुने थिएन । प्रतिपक्षमा बसेपछि युवाहरु बिदेश पलायन भए भनेर दुख व्यक्त गर्छाै तर सत्तामा आएपछि युवाहरु रोक्ने कार्यक्रम ल्याउदैनौं । युवाहरुलाई कृषिमा आकर्षित गर्ने र नाफामुखी व्यबसाय गर्न प्रोत्साहन गर्नुको साटो सरकारी निकायले नै सताउने गर्छन् । सरकारी निकायले सताउने हो भने अहिलेका युवाहरु काम गर्न किन अघि सर्छन् ? तसर्थ सत्तामा बस्नेहरुले ध्यान दिन जरुरी छ । काम गरेर खाने वातावरण बनाएर देशलाई आत्म निर्भर बनाउन जरुरी छ ।