टीकापुर, २३ माघ/विश्व क्यान्सर दिवसको अवसरमा देशैभरि आजबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी विरुद्धको एचपिभी खोप लगाउन शुरु गरिएको छ ।
टीकापुरमा खड्ग मेमोरियल सेकेन्डरी स्कूलमा एक कार्यक्रम गरी अभियान शुरु गरिएको छ ।

अभियान उद्घाटन गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले रोग लाग्नुभन्दा लाग्न नदिन वेश भएकाले सरकारले महिलाको स्वास्थ्य जोगाउन खोप अभियान शुरु गरेको बताउनुभयो । खोप अभियानमा सबै छोरीहरुलाई सहभागी गराइदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष मोहन लुहार विकले टीकापुर नगरपालिकामा ५ हजार बढी किशोरीलाई खोप लगाइने बताउँदै खोपबारे समुदायमा रहेका सबै किशोरी लाई समेट्न अनुरोध गर्नुभयो । उहाँले टीकापुरमा पनि पाठेघरको क्यान्सरको समस्या भएका महिला बढ्दै गएकाले खोप लगाउन पाइने सुनौलो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

वडा नं. ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लाले महिलाको पाठेघरमा हुने क्यान्सर निवारण का लागि लगाइने खोप महत्वपूर्ण भएकाले सरकारले गरेको लगानी को सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बल बहादुर रावलले विद्यालय भित्रका कक्षा ५ देखि १० कक्षामा अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरी लाई खोप लगाइने र यो खोप अब नियमित खोपका रुपमा सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रम सिनियर अहेब कमल बहादुर रावलले सञ्चालन गर्नुभएको थियो ।
पहिलो दिन खड्ग मेमोरियल सेकेन्डरी स्कुलका छात्रालाई खोप लगाइएको छ ।