टीकापुर, १७ फागुन/जालवादेवी सेवा समितिमा केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बीच डण्डी स्वामीको शालिक अनावरण गर्नुभएको हो ।
सुदूरपश्चिमको कला र संस्कृति संरक्षणमा योगदान दिनुभएका स्वामीले सुदूरको होली देउडा रचना गर्नुभएको बताइन्छ । उहाँ शैक्षिक जागरणका अभियन्ता, भुवा खेलका ज्ञाता, जातिय विभेद विरुद्धका अभियन्ताका रुपमा परिचित भएकाले सम्मान स्वरुप जालवा देवी सेवा समितिले शालिक निर्माण गरेको हो ।

शालिक अनावरण गर्दै मुख्य मन्त्री कमलबहादुर शाहले समाजमा, राष्ट्रमा योगदान दिएका ब्यक्तिको खोजी र हरेक वर्गले सम्मान गर्नुपर्ने बेला शालिक निर्माण गरेर स्वामीप्रति सम्मान गरिएको बताउनुभयो । शिक्षा, साहित्य, संस्कार र संस्कृति विकासमा योगदान दिएका यस्ता ब्यक्तिलाई हरेक वर्गले सम्मान गर्नुपर्ने बताउनुभयो । ।
सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलले ४ विघा क्षेत्रफल भएको जमिन पर्यटकिय हिसाबले अघि बढाउन सकिन्छ भनी आफु मन्त्री भएको बेला भौतिक विकासमा सहयोग गरेको बताउनुभयो । कार्यक्रममा सुदुरपश्चिम योजना आयोगका सदस्य तथा मन्दिरका पुर्व अध्यक्ष डाक्टर जगतबहादुर सिंह रावलले संस्था जन्माउन मात्र ठुलो कुरा नभइ त्यसको विकास गर्नु ठूलो भएको बताउनुभयो । उहाँले आफु अध्यक्ष हुँदा मन्दिरका लागि जग्गा उपलब्ध भएको कुरा स्मरण गर्नुभयो ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुर विकासका लागि छुट्टै जिल्ला, शिक्षा, पर्यटन र ब्यापारीक केन्द्र बनाउने योजना रहेका बताउँदै यसमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
समाजसेवी मीनबहादुर रावलले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।
वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणीन्द्र राज रेग्मीले लोक साहित्यमा दण्डी स्वामीको योगदान अतुलनीय रहेको बताउनु भयो । आज उहाँको सालिक अनावरण गरेर समाजले सम्झिएको बताउनुभयो ।

सालिक निर्माण समितिका संयोजक तथा टीकापुर नगरपालिका पूर्व नगर प्रमुख तपेन्द बहादुर रावलले वि।सं। १९५९ को दशकमा दण्डी स्वामी अछाम गएर बसेको इतिहास पाएको बताउँदै त्यो समयमा शिक्षा लिन चाहनेका लागि भेदभाव विना शिक्षा प्रदान गर्ने समाज विकासका योद्धालाई सम्झनकै लागि शालिक निर्माण गरिएको बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द रावलको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तरक रावलले गर्नुभएको थियो । सञ्चालन महासचिव रमेश रावलले गर्नुभएको थियो ।