खुला नाकाको फाईदा उठाउंदै लागु औषध सेवनकर्ता

टीकापुर,४ माघ/टीकापुरमा प्रहरीले लागु औषध प्रयोगमा कडाई गरेपछि लागु औषध सेवनकर्ताले भारतको तिकुनिया बजारलाई लागु औषध सेवन गर्ने अड्डाको रुपमा लिएका छन् ।
लागु औषध सेवन गर्न टीकापुरबाट भारतको तिकुनिया जाने गरेको रहस्य पत्ता लागेपछि बिगत दुई हप्ता देखि प्रहरीले नाकामा कडाई गरेको छ । प्रहरीले नाकामा कडाई गरेपछि दैनिक ३/४ जना लाई पक्राउ पर्न थालेका छन् । प्रहरीले लागु औषध नियन्त्रणमा बिगतको भन्दा थप कडाई गर्दै आएको छ ।
भारतबाट लागु औषध सेवन गरेर आउनेहरुसंग केही नभेटिने भएकाले सार्बजनिक मुद्धा चलाउने गरेको प्रहरीले जनाएको छ । ‘‘बिगतमा भारतबाट लागु औषध ल्याएर टीकापुर क्षेत्रमा बिक्रि हुने गरेको थियो,हामीले कडाई गरेपछि भारत गएर सेवन गर्न थालेको रहस्य पत्ता लागेको हो ,’’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भन्नुभयो, ‘‘पक्राउ परेका मध्य सामान्य लाई अभिभावकको जिम्मा लगाउने गरेका छौं भने गम्भिर प्रकृतिका छन् भने सुधार केन्न्द्र मा पठाउने र मुद्धा चलाउने गरेका
छौ ।’’ लागु औषध सेवनले अपराध बढाएको हो भन्दै सापकोटाले खुला नाकाको फाईदा उठाउँदै लागु औषध सेवन गर्ने अड्डा भारत को तिकुनिया भएको छ भन्नुभयो । ‘‘पछिल्लो समय प्रहरीले लागु औषध र शान्ति सुरक्षा भंग गर्नेहरुलाई पक्राउ गर्दै मुद्धा चलाउन थालेको छ ,’’ प्रहरी नायब उपरिक्षक सापकोटाले भन्नुभयो,‘‘लागु औषधका बारेमा समाजका हरेक व्यक्ति सजग हुन जरुरी छ,प्रहरी एक्लैले केही गर्न सक्दैन ।’’ ईलाका प्रहरी कार्यालय टीकापुरले मंसिर महिनामा लागु औषध र शान्ति सुरक्षा खलबल्याउने १ सय ७० जनालाई पक्राउ गरेको छ भने २८ जनालाई मुद्धा चलाएको छ । यसै गरी पुष महिनामा २ सय ३५ जनालाई पक्राउ गरेको छ भने ५१ जनालाई मुद्धा चलाएको छ । यो आर्थिक बर्षमा मात्र इलाका प्रहरी कार्यालय टीकापुरले १६ वटा मुद्धामा २५ जनालाई मुद्धा चलाएको जनाएको छ । प्रहरीले यो अवधिमा ४० ग्राम ७० मिलिग्राम खैरो हिरोइन पक्राउगरेको जनाएको छ । बिगत तीन महिना यता टीकापुर र लम्की क्षेत्रमा अपराधका घटना बढ्न थालेका छन् ।
अपराधका घटना बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ भने प्रहरीलाई पनि सोच्न बाध्य बनाए को छ ।‘‘ लागु औषध नियन्त्रणमा प्रहरी र समाज दुबै मिलेर काम गरे मात्र सफल भइन्छ ,’’ टीकापुर स्थित सम्बाद समूह सदस्य निर्मला कडायतले भन्नुभयो,‘‘लागु औषधमा पक्राउ परेका युवाहरुलाई प्रहरीबाट छुटाउने हतार गर्नुभन्दा कसरी कुलतबाट बचाउने भन्ने बारेमा सबैको ध्यान जानुपर्छ ।’’
लागु औषधका कारण अपराध बढेको छ तर कतिपय अभिभावक लाई केही वास्ता छैन भन्दै कडायतले युवाहरुलाई कुलत बाट बचाउन स्थानीय सरकारको भूमिका पनि आवश्यक छ भन्नुभयो ।