सम्पादकीय
जेनजीको आन्दोलनपछि पनि मुलुक कता जाने हो यसै भन्न सकिने अवस्था छैन । जनताले चाहेका गणतन्त्र आयो सबै समस्या समाधान हुन्छ भन्ने गरियो । आम नागरिकका सुखका दिन आयो भनियो तर जनताका समस्या ज्यूका त्यू भए । गणतन्त्रको चरम बिरोध भइरहेको थियो त्यसैमा जेनजीको आन्दोलनले बहुमतको सरकार सडकबाट ध्वस्त भयो । बहुमतको सरकार सडकबाट ध्वस्त हुनु प्रजातन्त्र का लागि राम्रो होइन । नागरिकले नेतृत्वको आलोचना गरिरहँदा नेतृत्वले सामान्य रुपमा लिए । जेनजीको आन्दोलनपछि सबै ठिकठाक हुन्छ भनेर बोल्न थालेका छन् कतिपय नेताहरु । सत्ता भन्दा बाहिर बस्नुपरेको पीडा जेनजीको आन्दोलनले मलहम लगाएको अनुभुति गर्ने नेताहरु पनि छन् । जनताको भावना भन्दा आफ्नो स्वार्थमा लिप्त हुँदा नेतृत्व देश र जनताको भन्दा सत्ताका लागि बढी मरिहत्ते गर्दा समस्या भयो । पञ्चायती व्यबस्था फालेर प्रजातन्त्र आयो । राजा सहितको प्रजातन्त्रले देश उभो लागेन भनेर गणतन्त्रको मुद्धा उठाइयो । नेताहरुको लहलहैमा लागेर जनता पनि सडकमा आए । देश चलाउन नेतृत्वको खाँचो पर्छ । जनताले नेतृत्वको बिश्वास गरे । गणतन्त्र आएपछि देशको अवस्थामा सुधार हुनुभन्दा ऋण मात्र बढाउने काम भयो भने सुशाषनको पाटोमा नेपाल कमजोर हुँदै गएको छ । यतिखेर देशको ऋण २७ खर्ब पुगेको छ । सुशासषको पाटो कमजोर हुँदै जाँदा जनतामा आक्रोस बढ्दै गएको थियो । नेताहरुको व्यबहार सुधार हुनुको साटो कसले के गर्न सक्छ भन्नेगरी व्यबहार प्रदर्शन गर्दै आएका थिए । कर्मचारीतन्त्रमा बढ्दै गएको अराजकता पनि नेताहरुकै कारण हो । एउटा सांसदले रोष्टमबाट मैले घुस दिएर छोरोको काम गराए भन्ने अभिव्यक्ति दिदा सत्तामा बसेका नेताहरु गम्भिर भएनन् । यो भन्दा दुर्भाग्य कुरा अरु के हुन सक्छ ? सरकारी सेवा लिन धेरै सास्ती बेहोर्नुपर्छ । प्रजातन्त्र र गणतन्त्र केही निश्चित ठालूका लागि मात्र भएको छ । प्रजातन्त्रले पुगेन भनेर गणतन्त्र आयो । शासन व्यक्तिको भएपछि गणतन्त्रमा नागरिक का कुरा हुने कुरै भएन । तसर्थ जेनजीको आन्दोलपछि सबै ठिक हुन्छ भन्ने अवस्था छैन । देशका बारेमा सबैले चिन्ता गर्न जरुरी छ । जेनजीको नाममा भइरहेका यतिखेरका गतिबिधि पनि शंका गर्नुपर्ने धेरै कारण छन् । जनता सचेत हुन जरुरी छ ।