गाइजात्राले औल्याएका नेताहरुको अराजकता

सम्पादकीय
बर्षको एक पटक गाइजात्राका नामले मनपरी बोल्न पाइन्छ । यही पर्बको बहानामा नेताहरुलाई मनपरी भन्ने गरिएको छ । गाइजात्रामा भनेझै अरुबेला भनेको भए सत्ताको आडमा नेताहरुले कलाकारलाई जेलमा हालिसकेका हुन्थे । गाइजात्रामा पञ्चायतका बेला पनि बोल्न पाइन्थ्यो । बिरोध नभएको भए यो परम्परा पन िहटाउन खोज्थे । बर्ष दिनका बिकृतिका बारेमा भपुरा मुद्धा उठाइने गाइजात्राले नेपालीको मन जितेको हुन्छ । नेताहरुलाई व्यंग गर्दा निरास भएका जनताले केही राहत महशुस गरेको पाइन्छ । चरम अराजकता भोग्दै आएका नेपाली जनताहरु नेता कहिले सुध्रने हुन् भन्नेमा छन् । गणतन्त्र आएपछि केवल जालझेलको राजनीति हुने गरेको छ । सामानुपातिक निर्बाचन प्रर्णाली र त्यस अघि शान्ति कायम गर्नेका नाममा माओवादीबाट स्वघोषित सांसदले निर्माण गरेको संसदले नेपालको राजनीतिमा अराजकता निम्ताउदै गएको अहिले सबैले महशुस गर्न थालेका छन् । ठूला दलका शिर्ष तहका नेताहरुले अहिले आएर निर्बाचन प्रणाली बारे सोच्नुपर्ने भन्न थालेका छन् । सत्तामा बस्नका लागि जे पनि गर्न तयार हुने संस्कारले बिधि बिधान हैन नेतृत्वको बोली नै कानून हो भन्ने सन्देश दिने प्रयास भइरहेको छ । देश र जनताका बारेमा केही वास्ता  छैन । नागरिकको जीवन स्तर र उनीहरुको दिनचर्या कति कठिन छ भन्ने बारेमा राजनीतिक दलका नेताहरुले ध्यान दिएको पाइदैन । नागरिकले सरकारी निकायमा पाउने सेवा सहज छैन । हरेक संस्थामा भ्रष्टाचार छ । भ्रष्टाचार कम गर्ने बिषयमा पनि नेताहरु गम्भिर छैनन् । राज्य दोहनमा लागेका नेताहरु जनतामाझ मिठा कुरा गर्छन् । सत्तामा बसेका बेला आफ्नालाई पोस्ने योजना बनाउछन् सत्तामा भन्दा बाहिर भएपछि जनताको कुरा गर्छन् । तसर्थ जनता सचेत हुन जरुरी छ । गाइजात्रा मार्फत दबाब सृजना गर्न जरुरी छ । मनपरी गर्ने र जनतालाई कानूनको डण्डा देखाएर तर्साउन खोज्ने प्रबृत्तिलाई रोक्न गाइजात्राले गरेको प्रयासलाई नागरिकले प्रोत्साहन गर्नुपर्छ ।