गाउंघरमा देउडा र रतेडीको मोह घट्दै

टीकापुर, ६ जेठ/देउडा र रतेडी सुदूरपश्चिमका पहिचान हुन् । कुनै बेला गाउँघरमा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा रातभरि खेलिने देउडा र रतेडी आजभोलि त्यति देखिँदैन । देउडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरु आधुनिक डिजेका बाजामा रमाएको देखिन्छ । आधुनिक बाजाले त हाम्रो संस्कृति हराउँदै गएको बूढापाकाहरुले        बताए ।
विगतमा विवाह व्रतबन्ध हुँदा गाउँघरमा रतेडी र देउडा खेल्नकै लागि वल्लो गाउँ पल्लो गाउँबाट महिला, बूढापाकाहरु जम्मा भएर देउडा र रतेडीमा रमाएको देखिन्थ्यो भने आजभोलि यस्ता कार्यक्रममा बालबालिका र युवा पिँढीहरु बढी रमाउने गरेका स्थानीयवासी खिमादेवी विश्वकर्मा ले बताउनुभयो । “गाउँघरमा कसैको विवाह भए रातभरि खेलिने देउडा र रतेडी आजभोलि खेलेको देखिँदैन”, उहाँले भन्नुभयो, “बूढापाकाहरु देउडा र रतेडी निकै मन पराउँछन् तर अचेलका युवाहरु खेल्न रुचाउँदैनन् ।” खिमादेवीलाई विगतमा रातभरि देउडा खेलेको याद अझै छ । “एकपटक रातभरि रतेडी खेलेका थियौँ”, उहाँले भन्नुभयो, “हिजो आज देउडा १÷२ घन्टा पनि खेल्न पाइँदैन ।”


कैलालीको जानकी गाउँपालिका का रतिराम सापकोटालाई आज भोलिका विवाह तथा उत्सवमा खासै रमाइलो लाग्दैन । देउडा खेल्न निकै मनपराउने उहाँ आधुनिक नृत्य हेर्न मन नलाग्ने बताउनुभयो ।
“रतेडी र देउडा गीतभन्दा पनि आधुनिक बाजामा मानिसहरु ९डिजे० बढी रमाएको देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा पालामा लगातार दुई दिनसम्म देउडा खेलिन्थ्यो । देउडामा गरिने सवाल जवाफ सुन्न र हेर्न अझै पनि निकै आनन्द लाग्छ ।”
देउडामा गरिने सवाल जवाफले समाजको चित्रण गर्ने सापकोटाले बताउनुभयो । “गीतले समाजको परिवेश र अवस्था झल्काउँथ्यो”, उहाँले भन्नुभयो, “बाजागाजा बजाउँदा रमाइलो देखिए पनि मौलिकता छैन ।”
त्यस्तै जोशीपुर– ७ लोहागढकी बासुदेवी विकलाई पनि विवाह मा बजाइने आधुनिक बाजा पटक्कै मन पर्दैन । “पहाडमा रातभरि रतेडी र देउडा खेल्थ्यौँ”, उहाँले भन्नुभयो, “यो डिजे बाजा झगडा बनाउने साधन हो जस्तो लाग्छ । जुन घरमा उत्सव छ त्यहाँ युवाबीच झगडा हुने र कुटपिट समेत हुने गर्छ । रमाइलो हेर्न जान पनि डर लाग्छ ।”


बासुदेवीले देउडा र रतेडी हेर्न नपाइने र आधुनिक बाजाको नाचगान हेर्न जाँदा पनि हल्ला खल्ला र झगडा बढी हुने भएकाले कार्यक्रममा जान छोडेको बताउनु भयो । पछिल्ला समय रतेडी र देउडा पनि डिजे बजाएरै खेल्ने गरेको देखिन्छ । “मुखले गीत भन्ने र खेल्ने पराम्परा पनि हराउँदै गएको छ”, साहित्य तथा संस्कृति विद् डा योगेन्द्र बजगाईंले जोड दिनुभयो, “ आधुनिक गीतले हाम्रो संस्कृतिमा नराम्रो असर गरेको छ । हाम्रा संस्कार र संस्कृति सँग जोडिएका परम्परागतरूप मा गाइने देउडा संरक्षणका लागि जानकार सबै लाग्नुपर्छ ।”
उहाँले रतेडी र देउडा सुदूरपश्चिमका संस्कृति भएकाले यसलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनु      भयो । “हातमा हात, पैतला मा पैतला मिलाई रतेडी र देउडा खेल्नु हाम्रो संस्कृति हो”, संस्कृतिविद् डा बजगाईंले भन्नुभयो,“संरक्षणकर्मी ले यसमा युवा पुस्तालाई सहभागी गराउन बढाउन योजना बनाउन जरुरी छ ।” –रासस–