गाली गलौजको राजनीति

सम्पादकीय
नेपालको राजनीतिमा निर्बाचनका बेला अरुलाई सत्तोसराप गरेर आफु अव्वल छु भन्ने प्रमाणित गर्ने प्रयास गरेको पाइन्छ । हिजो पञ्चायतलाई गाली गरेर नेता भए । माओवादी निहत्था नागरिक मारेर सत्तामा आए । एमालेले २०४६ को परिवर्तनपछि तोडफोडको राजनीति गरेर कांग्रेसलाई सताएर सत्ता साझेदार बन्दै सत्ताको चास्नीमा डुव्दै आएको छ । सत्ताको चास्नीमा डुबेका कम्युनिष्ट र प्रजातन्त्र वादीहरुको राजनीति संस्कार हेर्ने हो भने हरेकले लाजमान्नुपर्ने अवस्था छ । राजनीति फोहरी खेल हो भन्दै जे गरेपनि हुन्छ भन्ने संस्कारको विकास भइरहेको छ । जे गरेपनि हुन्छ जनता सबै कुरा पचाउछन् भन्ने मानसिकता बोकेर काम गर्दा यतिखेर गणतन्त्र नै कमजोर अवस्थामा पुगेको छ । गणतन्त्रका लागि १७ हजार निहत्था नागरिकको ज्यान गयो तर देशले केही पाएन । अरुलाई सत्तो सराप गरेर जनतालाई ठग्ने राजनीतिलाई अव मलजल गर्नुहुँदैन । बैसाख १० गते हुन गइरहेको निर्बाचनमा कांग्रेस,एमालेका युवा नेताहरुले रबी लामिछाने र स्वर्णिम वाग्लेको व्यक्तिगत कुरा गरेर जनता लाई आफुतिर आकर्षित गर्ने प्रयास गरेका छन् । कांग्रेस र एमालेका नेताहरु सत्तामा गएका बेला भएका बिकृति बिसंगतिका बिरुद्ध बोल्न सक्दैनन् । पार्टीका शिर्ष नेतृत्वको चाकडी गरेर अवसर खाने दाउमा छन् तर निर्बाचनमा भाषण गर्दा रबी र स्वर्णिमको व्यक्तिगत कुरा गरेर उनको बिरुद्ध जनतालाई भट्काउने प्रयास गर्छन् । निर्बाचनमा कसले बाजी मार्छ त्यो १० गतेपछि मात्र थाहा होला तर निर्बाचनका बेला गरिएको व्यक्तिगत हमलाले कांग्रेस र एमालेका युवाहरुको ल्याकत जनताले बुझ्ने मौका पाएका छन् । भाषणले कति जनतालाई ठग्ने ? रबी र स्वर्णिमले भोट माग्ने तरिका र कांग्रेस र एमालेका युवाहरु ले भोट माग्ने तरिक धेरै फरक छ । रबी र स्वर्णिमले मुद्धाको आधारमा भोट मागिरहेका छन् तर त्यहि कांग्रेस , एमाले र माओवादीले व्यक्तिगत कुरा गरेर भोट माग्दै छन् । यसबाट प्रष्ट हुन्छ कि नेपालका ठूला दलसंग भोट माग्ने एजेण्डा छैनन् । पटक पटक सत्तामा बसेका युवाहरुलाई जनतामाझ जान गाहे भएको छ । कतिपयले भाषणबाटै भोट झर्छ झै गरिरहेका छन् तर त्यो भ्रम हो । जनता लाटा छैनन् । मुद्धाको आधारमा भोट माग्दा नेपाली कांग्रेस र एमालेका युवा नेताहरुको साख बच्छ । बैसाख १० मा युवा नेताहरुको अवस्था आम नागरिकले बुझ्न पाउने भएका छन् । यसले देशभर एउटा सन्देश दिने निश्चित छ ।