टीकापुर, २७ पौष/स्वर्गिय गुरुआमा मेरी बर्गीसको सम्झनामा ख्रीष्टीय समाज टीकापुरले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । टीकापुरस्थित एरोमा चर्चमा भएको उक्त कार्यक्रममा बक्ताहरुले स्वर्गिय गुरु आमाको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले टीकापुरको शिक्षामा खेलेको भूमिकाप्रति खुलेर प्रशंसा गर्नुभयो ।

टीकापुरमा शैक्षिक क्षेत्रलाई बलियो आधार दिनमा गुरुको जति भूमिका छ उत्ति नै गुरुआमाको पनि भूमिका भएको उहाँहरुको भनाई थियो । गुरु र गुरुआमाले देखेको सपना पूरा गर्न लागि उहाँहरुको आशिस र निरन्तरता चाहिन्छ भन्नुभयो ।
ख्रीष्टीय समाजका अगुवा एंब खड्ग मेमोरियल स्कुलका संस्थापक शिक्षक हिरालाल भाटले गुरु र गुरुआमाले विद्यालयमा पढाइलाई मात्र प्राथमिकता दिनुहुन्थ्यो भन्दै खाली समयमा विद्यालयको फिल्ड सम्याउनुहुन्थ्यो भन्नुभयो । उहाँले बर्गीस सर जस्तो आदर्शबादी मान्छे कमै पाइन्छन् भन्नुभयो । मेमोरियलका पूर्व शिक्षक बेनी थेरियनले केरलको शिक्षित परिवारमा जन्मेर नेपाल जस्तो विकट ठाउँमा आएर सेवा गर्नु बर्गीस दम्पत्तीको ठूलो महाना हो भन्नुभयो । ‘‘नेपालको बिकट क्षेत्रमा अहिले पनि शिक्षाको कमी छ त्यस्ता ठाउँमा गएर शिक्षा दिन कोही जान मान्दैन’’, बेनीले भन्नुभयो, ‘‘आफ्नो स्वार्थमा छन् सब मान्छे तर बर्गिस सरको परिवार नेपालमा आएर सेवा ग¥यो ।’’
कार्यक्रममा बीरेन्द्र विद्या मन्दिरका गुठियार नवराज रावल र शिक्षक बलबहादुर रावल, पत्रकार तथा समाजसेवी भुवनेश्वर अधिकारी, पाष्टर फिलिप सुबेदी र खडग साहू, शिक्षक निर्मला शर्मा, इञ्जिनीयर रोशन शाही लगायतले स्वर्गिय मेरी बर्गिसलाई श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो । एरोमा चर्चका पाष्टर मंगल चौधरीले सञ्चालन गरेको कार्यक्रममा प्राथना मोहनप्रसाद शर्माले गर्नुभएको थियो । १५ अक्टोबर २०२५ मा उहाँको निधन भएको थियो । उहाँको जन्म सन् १९३३ अप्रिल २२ मा केरलामा भएको थियो ।
विकट क्षेत्रमा सेवा दुबैको चाहना
श्रद्धाञ्जली कार्यक्रममा गुरु थोमस बर्गीसलाई आफ्ना कुरा राख्न भनिएपछि सकिनसकि केही कुरा राख्ने प्रयास गर्नुभयो । ९५ बर्षिय गुरु बर्गीसले धेरै नबोले पनि आफ्ना भावना सबैले बुझ्नेगरी राख्नुभयो । उहाँले स्वर्गीय मेरीको प्रसंशा गर्दै स्मरणीय कुरा भन्न चाहन्छु भन्नुभयो, ‘‘उहाँले संसारको अग्लो ठाउँमा गएर सेवा इच्छा छ भन्नुभयो त्यही अनुसार मैले पनि विकटमा गएर सेवा गर्ने इच्छा छ भने ।’’ कक्षा १० मा पढ्ने बेलाका कुरा हो हामी दुबैबीच कुरा भएपछि नेपाल आउने कुरा भयो तर नेपाल कहाँ हो भन्ने थियो तर प्रभुले हामीलाई टीकापुरमा सेवा मौका मिलाइदिनुभयो ।
सन १९७५ मा टीकापुर आउनुभएका गुरु बर्गिसले नेपाल हामी त्यसै आएका होइनौँ परमेश्वरको इच्छा अनुसार आयौँ र त्यसै अनुसार पढाउने काम ग¥यौँ भन्नुभयो ।
अस्तु बिसर्जन
स्वर्गीय गुरुआमा मेरी बर्गिसको अस्तु बिसर्जन गरिएको छ । श्रद्धाञ्जली कार्यक्रमपछि दिल्लीबाट ल्याइएको अस्तु एरोमा चर्चमा बिसर्जन गरिएको छ ।

गुरुआमाको अस्तु उहाँका कान्छा छोरा आनन्द बर्गीसले बिसर्जन गर्नुभएको हो ।अस्तु बिसर्जन गरिएको स्थानमा आँपको बिरुवा रोपिएको छ । गुरुआमालाई आँप धेरै मन पर्ने भएकाले अस्तु बिसर्जन गरिएको स्थानमा आँपको बिरुवा रोपिएको ख्रीष्टीय एकता समाजका अगुवा हिरालाल भाटले बताउनुभयो ।
गुरु बर्गीसलाई सम्मान
टीकापुरमा आएको अवसर पारेर ख्रीष्टीय एकता समाज टीकापुर, बीरेन्द्र विद्या मन्दिर टीकापुर र खड्ग मेमोरीयल विद्यालयले गुरु बर्गिसलाई सम्मान गरेका छन् । ख्रीष्टीय एकता समाजका अग्रज परशुराम महतौँ लगायत चर्चका अन्य बिशिष्ट व्यक्तिले सम्मानपत्र सहित सम्मान गर्नुभएको हो भने बिरेन्द्र विद्या मन्दिरमा गुठियार प्रमुख नवराज रावलले सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।

विद्यालयमा पुगेपछि गुरु बर्गिस भावुक मुद्रामा हुनुहुन्थ्यो । कमजोर सरिर भए पनि विद्यालयमा पुग्दा हर्सित मुद्रामा देखिनुहुन्थ्यो ।

वि.सं. २०४४ सालमा गुरु बर्गिसकै पहलमा स्थापना भएको खड्ग मेमोरीयल स्कुलले पनि सम्मान गरेको छ ।