ग्लोबल ओरियन्सका पीडितको २६ लाख फिर्ता

एकिन्द्र तिमिल्सेना

टीकापुर, ७ जेठ/आकर्षक तलब पाइने प्रलोभनमा नेटवर्क बनाएर पैसा असूली गरेको ग्लोबल ओरियन्सले टीकापुरमा ३१ जनाको २६ लाख रुपियाँ फिर्ता गरेको छ ।
चैत पहिलो साता पीडित युवाहरुले ग्लोबलका १२ जना विरुद्ध उजुरी दिएपछि प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । ग्लोबलका प्रतिनिधि २४ दिन थुनामा परेपछि उजुरीकर्ताका पैसा तिरेको कागज देखाएर छुटेका छन् । टीकापुरमा महिनौसम्म रुमल्लिरहेका पीडितहरु पैसा पाएपछि आआफ्नो घर फर्केका छन् ।


अछामका चिरञ्जीवी बुढाले ३१ जनाले पैसा पाएको र अझै आफूले देखेका ३०० जना जतिको पैसा पाउन बाँकी रहेको बताउनु हुन्छ । कागज गर्दा सबैको पैसा तिर्ने भनेपछि सबैले पैसा नपाएको पीडितको गुनासो छ । पीडित निशान रानामगर भन्नुहुन्छ, ‘जेठ ३ गते ग्लोबलका तर्फबाट कर्ण कुँवरले मैले लिदै नलिएको सामानको १७ हजारको बील थमाए ।’ पीडितहरुका अनुसार केही जनालाई नगदै र केहीलाई विचौलिया कर्ण कुँवरमार्फत पैसा फिर्ता गरिरहेको छ । रानाका अनुसार ग्लोबलका टीकापुर प्रमुख साजन चौधरी ले पीडितको माग अनुसारका रकम कँुवरलाई दिएको बताउने गरेका छन् । उनीहरुले पीडित लाई थर्काउने, पैसा पाइसकेको र अब छ महिनासम्म ग्लोबलका बारेमा सार्वजनिक स्थलमा बोल्न नपाइने शर्त राख्ने गरेकोे छ ।
चैतमा उजुरी गरेका केही पीडितले पैसा पाएपनि अझै सयौ जनाले पाएका छैनन् । जाजरकोटका नवीन शाही भन्नुहुन्छ, ‘हामीलाई चैतको पहिलो साता घर जानुस एक महिनापछि आउनु भन्यो हामी बैशाख ३ गते आउदा ग्लोबलका प्रतिनिधि सम्पर्कमा आउन चाहेका छैनन् ।’
अहिले पनि टीकापुरमा रुकुम, जाजरकोट, दैलेख, अछाम, डडेलधुराका युवाहरु पैसा पाने प्रतिक्षामा बसिरहेका छन् । उनीहरुले अघिल्लोपटक फरार सूचिमा रहेका साजन चौधरी, शिवराज सिजापति, हेमन्त शाही र डडेलधुरा परशुरामका निरज थापामगर, अमरगढीका सचिन ऐर, दैलेखका लवबहादुर भण्डारी लगायतका व्यक्तिहरुलाई पक्राउ गरी पीडित ९०० भन्दा बढी युवाको पैसा एकमुष्ट असूल हुनुपर्ने माग गरिरहेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले ठगी गर्ने कम्पनीका कार्यालय तत्काल बन्द गर्न आदेश दिएको र ठगी मुद्दामा कारवाही हुनुपर्ने बताउनु हुन्छ । टीकापुरमा कार्यालय बन्द भए पनि लम्कीमा लम्की–टीकापुर रोडमा पिपुल्स अस्पतालको माथिल्लो तलामा ग्लोबलको कार्यालय चलिरहेको छ । उसले थपालीपुरमा दुई वटा होस्टेल खोलेर युवाहरुलाई राखेको छ । यस्तै भजनी नगरपालिका वडा नम्बर ३ स्थित भजनी–जोशीपुर सडकमा पनि ग्लोबलले कार्यालय राखेर काम गरिरहेको छ ।