जनजीविकाको सवालमा ध्यान देउ

सम्पादकीय
नेपालमा अधिकारका कुरा भए तर नागरिकको जनजिविकको सवालमा कुरा हुँदैनन् । संबिधानमा लेख्ने काम भयो तर काम भएन । अधिकारका कुरा धेरै हुन्छन् तर तिनै अधिकार सुनिश्चित गर्ने बेला नेताहरुले ध्यान दिदैनन् । नागरिकको सामान्य जीवनयापन कठिन भइरहेको छ तर नेताहरु आफ्नो स्वार्थमा लिप्त छन् । गणतन्त्र आएपछि नागरिकको जनजीविकाको सवालमा बहस भएको पाइदैन । नागरिक रोजगारका लागि बिदेश जान बाध्य छन् । कोरिया जान मरिहत्ते गरेको सरकारमा बस्नेहरुले देख्दैनन् भने यो भन्दा बिडम्बनाको कुरा अरु के होला ? नागरिक बिदेश जान पाउँ भन्दै आन्दोलन गर्नुपर्ने अवस्था किन आयो भन्ने बारेमा समिक्षा हुँदैन । भएका बिकृतीका बारेमा समेत समिक्षा भएको पाइदैन । नागरिकको तल्लो तहका भोगाई बारे छलफल हुँदैन भने सरकारमा बस्नेहरुले नीति बनाउन सक्ने कुरै भएन । नेपालमा महगिंको मार एकातिर छ भने अर्काे तर्फ नागरिकको आम्दानीमा भारी कटौती भएको छ । सरकारले बर्षेनी कर बढाउदै लगेको छ । कुनै दिन नागरिक कर तिर्न नसकेर जग्गा लैजाउ सरकार भन्ने दिन आउने अवस्था छ । नागरिकको जीवन शैली कठिन अवस्थामा पुगेको कुरा नेताहरुले बुझेका छैनन् । रेमिट्यान्समा आफ्नो देशको प्रगति देख्ने र विकास बजेट लुट्न पल्केका नेताहरुको अहिलेको शैलीले देश बन्दैन र नागरिकका दुखका दिन यथावत रहन्छन् । राजनीति नागरिकको जीवन सुधारका लागि हुनुपर्ने हो तर नेताहरु आफ्नो स्वार्थमा लिप्त हुँदा देश छिया छिया अवस्थामा पुगेको छ । तसर्थ जनता सचेत हुन जरुरी छ । जनताले स्थानीय स्तरमै सामाजिक अगुवा या पार्टीको नेतृत्व छान्दा बिचार गर्नुपर्छ । हंचुवाका भरमा नेतृत्व छान्दा भ्रष्टहरुले प्रोत्साहन पाइरहेकाछन् । भ्रष्टहरुलाई प्रोत्साहन कसैबाट पनि हुनु हुँदैन ।