टीकापुर, १६ माघ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्ब मन्त्री रामजनम चौधरीले जनताको भावनामा खेलेर नागरिक उन्मुक्तिले भोट लगेको आरोप लगाउनुभएको छ । पूर्ब मन्त्री चौधरीले मंगलवार नेपाली कांग्रेस जोशीपुर ४ को वडा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाउनु भएको हो ।
‘‘जनताको भावनामा खेलेर भोट लगे तर जनताको काम गरेनन्,’’ चौधरीले भन्नुभयो,‘‘थारु समुदायले आफ्नो भविष्यका बारेमा सोच्न जरुरी छ । ’’ सानातिना मतभेद आपस मा बसेर समाधान गर्न जरुरी भएको बताउनुभयो ।‘‘ १० बर्ष अघि हामीले निर्माण गरेका पक्की सडक यतिखेर भत्केका छन् तर बर्तमान जनप्रतिनीधिहरु ले मर्मत गर्न इच्छा देखाएका छैनन् , नयाँ त धेरै टाढाको कुरा हो ,’’ चौधरीले भन्नुभयो,‘‘ यस क्षेत्रमा नेपाली कांग्रेसको समयमा मात्र विकास भएको छ , बर्तमान जनप्रतिनीधिमा न ढंग छ न सोच छ ।’’ स्वास्थ्य क्षेत्रमा भएका हरेक सुधारका कार्यक्रम कांग्रेसका मन्त्री भएकाबेला भएको उहाँको भनाई थियो ।

सभाषद बुद्धिसागर चौधरीले यो व्यबस्था मान्नका लागि हाम्रा पुर्खाले ठूलो योगदान गरेको बताउनुभयो । ‘‘यो संबिधानले सबैको अधिकार सुनिश्चित गरेको छ ,’’ चौधरीले भन्नुभयो,‘‘ नेपाली कांग्रेस बलियो भयो भने मात्र देश बलियो हुन्छ ।’’
महासमिति सदस्य बीरु प्रशाद चौधरीले बिगतका कुरा बिर्सेर नयाँ थालनी गरेर कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभयो । पूर्ब जिल्ला उपसभापति बीरबहादुर हमालले नेपाली कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताले जनताको भावना बुझ्न जरुरी छ भन्दै पार्टी बलियो बनाउन इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा आउन जरुरी छ भन्नुभयो ।

वडासभापति चेतराम चौधरी को सभापतित्वमा भएको उक्त कार्यक्रममा महासमिति सदस्य गीता कठरिया, जिल्ला सदस्य रामकृष्ण चौधरी र रामप्रशाद चौधरी , पूर्ब क्षेत्रीय सभापति तथा जिल्ला प्रतिनीधि भुवनेश्वर अधिकारी, प्रदेश सभापति परशुराम महतौं, थारु संघका केन्द्रिय सदस्य तथा पूर्ब वडाध्यक्ष बिधिराम चौधरी , जोशीपुर गाउँशाखाका कार्यबहाक सभापति नेतराम चौधरी, पूर्ब जिल्ला सदस्य राम हमाल, वडासभापति किशोर कठरिया र पूर्ब क्षेत्रीय सदस्य बिश्वनाथ जोशी लगायतले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर लाग्न सुझाव दिनुभएको थियो । कार्यक्रममा स्वागत राधाकृष्ण चौधरीले गर्नुभएको थियो भने सञ्चालन सचिब घनश्याम परियारले गर्नुभएको थियो । यो संगै क्षेत्र नम्बर १ का वडा सम्मेलन लगायत पालिका ,प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न भएका छन् ।