टीकापुर, २१ फागुन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा आएपछि र सरकारमा रहँदा जातीय मोर्चाहरु सँग पार्टीको सम्वन्ध कमजोर हुन गएको बताउनु भएको छ । थारुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन मा टीकापुरमा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘शान्ति प्रक्रियामा आइसकेपछि र सरकारमा भएका बेला संघर्षका बेला जस्तो सम्वन्ध राख्न सकिएन सम्बन्ध दह्रो बनाउन नसक्नु कमजोरी भएको प्रचण्डले बताउन भयो ‘केन्द्रीय कमिटिको बैठकले समाजवादी क्रान्तिका लागि जातीय मोर्चा झन बढी आवश्यक भएको निष्कर्ष निकाले पछि गम्भीर आत्मसमिक्षा गरेर बर्गीय मुद्दा पुनः उठाउन जनतामा आएको छु ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा रहँदा राम्रो काम गरेको दावी गर्दै विपक्षीले मिलेर हटाएपछि अहिले हुलाकी राजमार्ग मा त्यस लगत्तै मध्यपहाडी राजमार्गमा अभियान गरिने तर अब नेपाली काँग्रेस र नेकपा एमालेसँग मिलेर कहिल्यै सरकारमा नजाने बताउनुभयो । उहाँले जातीय मोर्चा र बलिदानीले युद्धको मोर्चा जितिएकोले अब २०६४ मा मतदान गर्ने मतदाता को घरमा पुग्न लागेको पनि बताउनुभयो ।

एक फरक प्रसंगमा आफ्ना पार्टीका पुराना कार्यकर्ताको माया लागेको बताउदै आफ्ना पुराना कार्यकर्ता रामलाल डगौरा टीकापुरका मेयर भएकोमा खुशी व्यक्त गर्दै, रेशमलाल लाई आफूले जेलबाट छुटाउन ठूलो मिहिनेत गरेको तर रेशमलालको पछि लागेर कतै नपुगिने पनि बताउनु भयो ।
पार्टीका सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणी पोखरेलले पनि पार्टीका तर्फबाट भएका गल्तीको समिक्षा गर्दै संविधानका उपलब्धी को रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक प्रणाली परिवर्तन गरे पनि आर्थिक क्रान्ति गर्न नसकिएको नागरिकमा निराशा छाएको बताउनुभयो । उपहमसचिव वर्षमान पुनले केही भएन भन्ने र सबैथोक प्राप्त भैंसकेको भन्ने दुवै खाले भाष्यबाट माथि उठेर समावेशी लोकतन्त्रमा रहेर थप अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनु भयो । पुनले पहाडी थारू लडाउने प्रतिक्रियावादी शक्तिलाई चिनेर एकतावद्ध भएर बस्नुपर्दछ भन्नु भयो ।
अर्का उपमहासचिव जनार्दन शर्माले संविधानमा धेरै अधिकार लेखिएको भएपनि अझै सघर्ष बाँकी रहेको बताउदै संविधान संशोधन को कुरा गर्दा केही पुरातनवादी शक्तिहरु सल्बलाएकाले संविधान संरक्षणका लागि शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा माओवादी केन्द्रको जातीय मोर्चाका संयोजक ओनसरी घर्ती, केन्द्रीय सदस्य नेपबहादुर चौधरी, नेपाली काँगे्रस का नेता रामजनम चौधरी लगायत ले थारु बहुल क्षेत्रमा पहिचान सहितको संघीयता अझैं नआएकाले संघर्ष जारी राख्नुपर्ने बताउनु भएको छ ।
सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २२ जिल्ला बाट करिब ७५० जना प्रतिनिधि सहभागी भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा थारु भाषा, कला लगायतका क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गरेको छ ।
कार्यक्रममा डाक्टर जर्मन चौधरी, डाक्टर कृष्णराज सर्वहारी, डाक्टर रामबहादुर चौधरी, पत्रकार एकराज चौधरी, कालिमैया चौधरी, कलाकारहरु सोनु कुश्मी, राज कुश्मी, कृषकहरु कालु हमाल, रामबहादुर कुवर, विनोद कुमार साह लगायतलाई सम्मान गरिएको छ ।