जनताले सुझबुझ देखाउनुपर्छ

सम्पादकीय
जेनजी आन्दोलनले एउटा सन्देश दिएको छ त्यो हो अति गरे खती हुन्छ । आन्दोलनका बारेमा नानाथरी शंका उपशंका छन् तर पनि आम नागरिकले यो हुनु नै थियो भन्ने गरेका छन् । राजनीतिक दलका नेता र कार्यकर्ता बाहेक आम नागरिकले जेनजी आन्दोलनलाई समर्थन गरेका छन् । आम नागरिक राजनीतिक दलका नेताहरुको व्यबहारबाट निरास थिए । बिश्वास गरेका नेताहरुले देश र जनताका पक्षमा काम गरेनन् भन्ने गुनासो छ । गणतन्त्रमा दिनप्रतिदिन असन्तुष्टि बढ्दै गएको थियो । यो असन्तुष्टिको झोकमा समाजमा राम्रा मान्छे समेत उस्तै हुन् भनेर सामान्यकरण गर्ने प्रचलन बढेको छ । समाजमा सबै मान्छे खराब छैनन् भने सबै राजनीतिक दलमा खराब मान्छे मात्र छैनन् । अवसर पाएका मान्छेहरु बद्नाम भएको अवस्था छ तर यसको मतलव सबै तिनै मात्र हुन् भन्ने सोच गलत हो । अवसर पाएर काम गर्न नसकेका र सामाजमा बद्नाम भएकाहरुलाई बहिस्कार गर्ने हो भने राम्रा मान्छे नेतृत्वमा पुग्ने अवसर पाउछन् । राम्रा मान्छे नेतृत्वमा पुग्ने हो भने देशको अवस्था सहज रुपमा सुधार हुन्छ । नेपालको राजनीतिमा धेरै नेताहरु असफल भइसकेका छन् । जेनजी आन्दोलनले राम्रा मान्छे अघि लाग्नुपर्छ भन्ने प्रष्ट सन्देश दिएको छ । युवाहरु अघि आउनुप¥यो भन्नुको अर्थ जेष्ठ सदस्यहरुले राम्रो काम गरेनन् भन्ने नै हो । सत्तामा बसिराख्ने अनी देश र जनतकाो भन्दा आफ्नो स्वार्थका लागि काम गर्दै जाँदा मुलुक संकटमा प¥यो । जनताको सवालमा असफल भएका नेताहरु पार्टी कव्जा गर्न भने सफल भए तर देशमा सुशाषन कायम गर्ने सवालमा असफल भएका छन् । अब नयाँ ढंगबाट सबै पार्टीले सोच्नुपर्छ भन्ने आवज उठन थालेको छ । नयाँ सोच लिएर पार्टीका युवाहरु आउनुप¥यो भन्ने माग बढेको छ । नयाँ युवाहरुको अर्थ बेरोजगार र लोभी पापीहरुलाई आउ नेतृत्व लिउ भनेको    होइन । जसरी पनि राम मान्छेले समाजको होस् या देशको नेतृत्व गर्ने वातावरण बन्नुपर्छ ।