जनता सचेत हुनुपर्छ

सम्पादकीय
जनता सचेत नहुने हो भने नेताहरुको स्वच्छेचारी बढ्दै जाने निश्चित छ । देश र जनताका बारेमा कम र आफ्नो स्वार्थमा बढी लिप्त भएपछि पछिल्लो समय मुलुक दल्दल्मा फस्दै गएको छ । नागरिकले आवाज उठाए बोली बन्द गर्ने प्रयास भइरहेको छ । मनपरीतन्त्र हावी भएपछि नागरिक पनि अराजक हुनु स्वभाविकै हो । नागरिक अराजक भएको भन्दै अंकुश लगाउने तर नेताहरुले आचरण नसुधार्ने हो भने मुलुक कसरी शान्त हुन्छ ? नेपालमा पदमा बसेका बाहेक अरु सबैले नियममा बस्नुपर्छ भन्ने मान्यताको विकास गर्न थालिएको छ । राज्यको नीति आम नागरिकलाई कसरी सहज रुपमा काम गर्ने वातावरण बन्छ भन्ने भन्दा पनि तर्साउने नीतिले काम गर्ने गरेको छ । स्थानीय स्तरमा प्रहरी र कर्मचारीको व्यबहार होस् या सत्तामा बसेका शिर्ष नेताहरुको व्यबहार होस् सबै नागरिकलाई सास्ती दिन तल्लिन छन् । नागरिकले जसरी पनि राज्यलाई कर तिर्नुपर्ने तर सुबिधा केही नपाउने भएपछि यतिखेर नागरिकले कर के का लागि तिर्ने ? नागरिकले सास्ती बेहोरिरहनुपर्ने तर नेता र नेताका आफन्तलाई मनपरी गर्न छुट छ । कानून फरक छ भन्ने बुझाउने प्रयास पन िभइरहेको छ । यसरी गणतन्त्रको धज्जी उडाउने गरी काम भइरहेको छ । कर असुलेर मोज मस्ती गर्न थालेपछि यतिखेर अर्थतन्त्र डामाडोल भएको छ । हरेक क्षेत्र अस्तव्यस्त छन् । नागरिकले नियम पालनाका नाममा राज्यको ज्यादती सहनुपर्ने भएको छ । सत्तामा बसेका नेताहरु जनताको गुनासो सुन्ने क्षमता राख्नु भन्दा मुख बन्द गराउन उद्यत छन् । यसमा सबैको ध्यान जान जरुरी छ ।