जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस मनाइयो

टीकापुर, २२ जेठ/जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस टीकापुरमा मनाइएको छ ।
टीकापुर नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको समन्वय तथा सहकार्य र स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा भएको हो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान उपप्रमुख केशरी रावल विष्ट र कानून अधिकृत केशर थापाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य मञ्जु विकले महिलाहरु विभिन्न खाले विभेद झेलिरहेका बताउनुभयो । उहाँले महिनावारी हुँदा छुवाछुत अन्त्य नभएको, दलित र गैर दलितबीचको विभेद समेत अझँै रहेको बताउनुभयो । छुवाछुत पुरुषको तुलनामा महिलाहरुले बढी मानिरहेका उहाँ बताउनुभयो ।


अर्का महिला सदस्य भारतीदेवी विकले अझैँ आफ्नो वडामा दलित र गैरदलितबीच विभेद कायम रहेको, विवाह जस्ता भोज तथा उत्सवमा समान व्यवहार नभएको बताउनभयो ।
वडा नं। ३ की वडा सदस्य कमलादेवी विश्वकर्मा पनि यस्तै विभेद कायम रहेको अनुभव सुनाउनुहुन्छ । कुनै कार्यक्रम, भोज भतेर तथा पिकनिक जाँदा पनि दलित र गैरदलितले एउटै भान्सा प्रयोग गर्न नसकेको उहाँ बताउनुभयो ।
टीकापुर ४ की वडा सदस्य तुल्सादेवी विक विस्तारै समाज परिवर्तन हुँदै गएको बताउनुभयो । उहाँ परिवर्तन भए पनि पूर्खाहरुले विभेद गरिरहेको बताउनुभयो ।
नगरपालिकाका निवर्तमान उपप्रमुख केशरी रावल विष्टले समाजमा भइरहेका छुवाुत तथा विभेद अन्त्यका लागि वडा वडामा महिला तथा दलित महिला सदस्य निर्वाचित भइसकेकाले अब उनीहरुले काम गर्नुपर्ने बताउनु भयो । उहाँले समाजमा विद्यमान गलत अभ्यास चिर्न नीतिगत रुपमा कडाइ गर्ने, जनचेतना जगाउने खालका योजना तर्जुमा आवश्यक रहेकोमा जोड दिनुभयो ।
जात तथा लिंगका आधारमा गरिने सबैखाले विभेद अन्त्य हुनुपर्छ । समाजको सकारात्मक विकासका लागि सबैको सोँच पनि सकारात्मक हुन आवश्यक छ ।